कीर्तिपुरमा माओवादीले मस्यौदा च्याते
काठमाडौँ: नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदाले आम जनताको भावनालाई सम्बोधन गर्न नसकेको भन्दै नेकपा-माओवादीका कार्यकर्ताले आज कीतिपुरमा जनमत संकलन कार्यमा अवरोधको प्रयास गरेका छन्।
कीतिपुरको पाँगामा नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले आयोजना गरेको जनमत संकलन कार्यलाई प्रभावित तुल्याउने उद्देश्यले ती कार्यकर्ताले मस्यौदा च्यातेका हुन्।
पूर्व सभासद् पार्वती थापामगर नेतृत्वको टोलीले संविधानमा सबै पक्षको भावनालाई सम्बोधन नगरिकन संविधान जारी गर्न खोजिएकाले आफूले मस्यौदा च्यातेको जानकारी गराएएको थियो।
उनले चार दलले आफ्नो स्वार्थलाई हेरेर मात्रै संविधानको पहिलो मस्यौदा ल्याएको, महिला आदिवासी, जनजाति तथा सीमान्तकृत समुदायको भावनालाई सम्बोधन नगरेको आरोप लगाए। माओवादीका कार्यकर्ताले अवरोध गर्न खोजे पनि सुरक्षाकर्मीको उपस्थितिमा जनमत संकलन कार्य भने जारी रहेको छ। रासस