मस्यौदामाथि सुझाव दिन प्रधान मन्त्रीको आग्रह
काठमाडौं,४ असार । राजनीतिक दलहरुले देश संविधान निर्माणको महत्वपूर्ण चरणमा हिँडिरहेकाले मस्यौदामाथि सुझाव दिन सबैलाई आग्रह गरेका छन् । प्रधानमन्त्री एवं नेपाली कँग्रेसका सभापति सुशील कोइरालाले एक विज्ञप्ति जारी गर्दै भावी पुस्तालाई पनि उपयोगी हुने किसिमको संविधान बनाउन दीर्घकालीन सोचका साथ महत्वपूर्ण सुझावहरु प्रस्तुत दिन आग्रह गर्नुभएको छ । जनताको घर दैलोमा पुगेर मस्यौदा माथी जनताको धारणा बुझ्ने प्रयास आधुनिक र उच्च लोकतान्त्रिक अभ्यास भएको कोइरालाको भनाइ छ ।
मस्यौदा संविधानसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुको सहमतिको पनि दस्तावेज भएकोले यसका कतिपय प्रावधानहरुमा एकरुपमा हुन नसक्ने भन्दै प्रधानमन्त्री कोइरालाले मस्यौदामा निहित कुन कुन धारा र प्रावधानहरुलाई कस्तो बनाउदा उपयुक्त हुन्छ भन्ने विषयमा आफ्ना ज्ञान र अनुभवमा आधारित सुझावहरु दिन आग्रह गर्नुभएको छ । यसैगरी एमाले अध्यक्ष केपी ओलीले संविधान शक्ति सन्तुलनको दस्तावेज भएकाले यसलाई मनन गर्दै मस्यौदामाथि सुझाव दिन सर्वसाधारणहरुलाई अपील गर्नुभएको छ ।
उहाँले नेपाली राजनीतिमा परिवर्तनकारी लोकतान्त्रिक शक्ति बाहेक अन्य धार र प्रबृत्तिहरु पनि रहेकाले तिनलाई समेत मिलाउनुपर्ने कारणले कतिपय बिषयमा सम्झौता गर्नुपरेको उल्लेख गर्नुभएको छ । यसेगरी एमाओवादी अध्यष पुष्पकमल दाहालले नेपाली जनताको आफैले संविधान निर्माण गर्ने ऐतिहासिक चाहना करिब एक शताब्दी लामो संघर्ष र राजनीतिक आरोह–अवरोह पश्चात अब चाँडै साकार हुने अवस्था आएकोले उपयुक्त सुझाव दिन आग्रह गर्नुभएको छ ।