Live Streaming

​सुझाव संकलनको सार्वजनिक सुनवाई सुरु

काठमाडौं,४ असार । नयाँ संविधानमा नागरिकको राय सुझाव संकलनका लागि आजदेखि सार्वजनिक सुनुवाई सुरु भएको छ । नागरिकको सुझाव संकलन गर्न आज र भोलिका लागि कार्यक्रम तय गरिए अनुसार आज देशका विभिन्न भागमा सार्वजनिक सुनुवाई गर्न लागिएको हो ।

सार्वजनिक सुनुवाईका लागि सभासद र संविधानसभा सचिवालयका कर्मचारी यसअघि नै जिल्लाहरुमा परिचालित भइसकेका छन् । संविधानसभा सचिवालयका अनुसार कम्तिमा २ ठाउँमा सुनुवाई गर्ने योजना अनुसार आज र भोलि नै २ सय ४० वटै निर्वाचन क्षेत्रमा सुनुवाई हुनेछ ।

कतिपय ठाउँहरुमा भने बिहानैदेखि सुुनुवाई सुरु भएको हाम्रा सहकर्मीहरुले जनाएका छन् ।  उच्च सुरक्षा व्यवस्था सहित असार २६ गतेबाट कार्यक्षेत्रमा खटिएका सचिवालयका कर्मचारीहरुले गाउँगाउँमा पुगेर सुझाव संकलन गरिसकेका छन् ।

सभासदहरुले आज र भोलि क्षेत्रगत रुपमा सुझाव संकलन गरेपछि तयार पारिएको प्रतिबेदन ७ गते संविधानसभामा बुझाउनुपर्नेछ  । सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकलाई अत्यधीक सहभागी गराउने भन्दै सरकारले आज र भोलि सार्वजनिक विदा नै दिएको छ ।

यसैबीच, शीर्ष दलहरुले पार्टी लाइन विपरित सुझाव नदिन आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएपछि स्वतन्त्र सुझाव संकलन हुनेमा शंका बढेको छ । शीर्ष तीन दलले पार्टीको नीति अन्तर्गत रहेरमात्रै सुझाव संकलन गर्न पनि सभासदहरुलाई निर्देशन दिएका छन् ।