Live Streaming

पहिरोले माझी बस्ती जोखीममा,६३ घर विस्थापीत बेनी–मालढुंगा सडक खतरामा

 माया अधिकारी
पर्वत,३ साउन । कुश्मा नगरपालिका १ स्थित मालढुंगामा माथिबाट आएको पहिरोका कारण कालीगण्डकी नदी किनारमा रहेको माझी बस्ती जोखिममा परेको छ । बस्तीभन्दा माथिबाट आएको सुख्खा पहिरोका कारण कालीगण्डकी किनारका झण्डै एक सय भन्दा बढि घरहरु जोखिममा परेका छन् । त्यस्तै म्याग्दी सदरमुकाम बेनी जोड्ने मालढुंगा–बेनी  समेत खतरामा रहेको छ । झण्डै तीन सय मिटर माथिवाट आइतवार (आज) बिहान ९ बजेदेखि खसेको सुख्खा पहिरोका कारण मालढुंगा बेनी सडक अवरुद्ध बनेको थियो । 


पछि दुईवटा डोजर लगाएर बाटो सुचारु गरिएको भएपनि माथिबाट पहिरो खस्ने क्रम नरोकिदा समस्या सिर्जना भएको छ । पहिराले माझी बस्तीमा रहेका श्रमिक प्राथमिक विद्यालय समेत जोखिममा परेका छन् । माथिबाट पहिरो झर्ने क्रम नरोकिएपनि पहिरो आसपासका वासीन्दाहरु लत्ताकपडा लिएर सुरक्षित स्थानमा सरेका छन् । बिनासकारी भुकम्पका कारण हल्लिएको जमिन हालै परेको ठुलो वर्षाका कारण पहिरो गएको हुनसक्ने स्थानिको अनुमान रहेको छ । पहिरोले पाङको नुवारको डाँडामा पुरी धाँजा चर्केकाले जुनसुकै बेलामा पनि ठुलो पहिरो जान सक्ने भन्दै स्थानियहरु चिन्तित बनेका छन् । 

पहिरो खसेपछि ६३ घर सुकुम्बासी परिवार बिस्थापित बनेका छन । कालीगण्डकी नदी किनारमा बालुवा चालेर तथा बंगुरपालेर जीबिकोपाजर्न गर्दै आएका सुकुम्बासी परिवार घरबार बिहीन बन्न पुगेको स्थानिय सुकलाल परियारले बताउनुभयो । अझै चिरीएको जमिन बाँकी रहेकाले जुनसुकै बेला अझै ठुलो पहिरो जान सक्ने र बस्ती सबै पुरिने संभावना रहेको परियारले बताए । पहिरोका कारण मालढुंगा क्षेत्रमा रहेका एक सयबढी परिवार जोखिममा परेका छन् । अहिले पहिरो गएपछि मालढुंगाको माझी बस्तीमा बस्दै आएका स्थानीय लत्ताकपडा र सामान बोकेर सुरक्षित स्थानतर्फ लागेका छन् । 

ठाउँठाउमा चर्केका कारण जुनसुकै समयमा पनि पहिरो जानसक्ने जिल्ला प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् । उनले स्थानिय वासीन्दाहरुलाई सतर्क रहन आग्रह गरेका छन् । एकातिर कालीगण्डकीमा बढेको वहाव र अर्कोतर घरमाथिको डाँडाबाट खसेको पहिरोका कारण दोहोरो समस्यामा परेको स्थानिय बृद्धले गुनासो गरे । उक्त ठाउँमा विभिन्न जिल्लाबाट आएका सुकुम्वासीहरु माछा मार्ने, बालुवा चाल्ने र गिटी कुट्ने पेशा गर्दै आएका छन् । 


उक्त स्थानमा गएको पहिरो अवलोकनका लागि प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीसहित प्रहरीकोे अवरुद्ध मालढुंगा बेनी सडक खुलाउने र पहिरोको अवस्थाका बारेमा जानकारी लिने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । कालीगण्डकीको डरलाग्दो ठाडो भिरमा पहिरो खसेका कारण संरक्षण गर्न सक्ने अवस्था नरहेको जिल्ला भूसंरक्षण कार्यालय पर्वतका प्रमुख रमेश बरालले बताउनुभयो । कालीगण्डकी माथिको सबैभिर भूकम्पका कारण चर्किएको र संरक्षणका लागि जाली लगाउने ठाउँ समेत नभएकाले बस्ती नै स्थानान्तरण गर्नुपर्ने प्रमुख बरालको भनाई छ ।

कालीगण्डकी नदी किनारमा पहिरो गएपछि बस्ती स्थानान्तरण गर्ने र मानवीय क्षति हुन नदिने तर्फ प्रयास भैरहेको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताउनुभयो । अहिले अबरुद्ध सडक खुलाउन सडक बिभाग बागलुङ्गबाट डोजर मगाएर काम भैरहेको र पछि बस्तीको जोखिम हटाउन र बिस्थापितलाई सुरक्षित स्थानमा राख्ने तर्फ ध्यान दिइने प्रजिअ तिवारीको भनाई छ । 

गएको बैषाखमा गएको भूकम्पका  कारण कालीगण्डकी किनारा पर्वतको कुस्मा देखि वारीबेनी सम्मको सडक तथा  र मोदीखोलाको किनारमा डिमुवादेखि नयाँपुल सम्मको सडक खण्ड पहिरोको उच्च जोखिममा रहेको भन्दै भूगर्भबिद तथा सडक बिभागमा पटक पटक पत्राचार गरिएपनि अहिले सम्म कुनै प्रयास भएको छैन । जुनसुकै बेला पनि ठूलै क्षति हुन सक्ने तर्फ सम्बन्धित निकायले समयमा नै ध्यान दिनुपर्ने देखिन्छ  ।