Live Streaming

धर्मनिरपेक्षता खारेजीको माग गर्दै विरोध प्रदर्शन

जनार्दन घिमिरे

गुल्मी, ३ साउन: संविधानको पहिलो मस्यौदामाथि सोमबार जिल्लामा सार्वजनिक सुनुवाई गरि जनताहरुका सुझाव संकलन गर्ने कार्यक्रम तय गरिएपनि गुल्मी जिल्लामा भने आइतबार धर्मनिरपेक्षता खारेज गर्नुपर्ने भन्दै नागरिकहरुले विरोध प्रदर्शन गरेका छन् । ब्राह्मण समाज नेपालले सदरमुकाम तम्घास स्थीत उदीनढुंगाबाट निकालेको विरोध र्याली बजार परिक्रमा गरि लाकुरी मञ्चमा पुगी सभामा परिणत भएको थियो । 


र्यालीमा धर्म निरपेक्षता खारेज गर, धार्मिक स्वतन्त्रता सहितको हिन्दु राज्य घोषण गर्, जातीय राज्य चाँहिदैन जस्ता नाराहरु लगाइएको थियो । कार्यक्रममा ब्राह्मण समाजका अध्यक्ष शशी पन्थीले यदि धर्मनिरपेक्षताको खारेजी नगरिने हो भने संविधान वनेको भोलीपल्टदेखि नै देशमा धार्मिक आतंक र धार्मिक हिंसा मच्किने बताए । उनले यदि सरकारले साच्चिै रुपमा पहिलो मस्यौदामा जनताको सुझाव संकलन गरि जनताको अभिमत वटुल्न खोजेको हो भने नेपाललाई धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र घोषणा गर्न सभाषद्हरुलाई आग्रह गरेका छन् । 


ब्राहमण समाजले सोमवार आयोजना हुन लागेको संविधान मस्यौदा सुझाव संकलन टोलीलाई  धर्म, नागरिकता, भाषा, मैलीकहक र आरक्षण, राज्य संरचना र राज्य शक्तिको सम्बन्धमा आफ्ना सुझावहरु समेत प्रस्तुत गर्ने जनाएको छ । संविधानको पहिलो मस्यौदा माथि सुझाव संकलनका लागि गुल्मी आईपुगेका सभाषद्हरु भने आइतबार नै आआफ्नो क्षेत्रतर्फ लागि सकेका छन् ।