Live Streaming

माओवादी कार्यकर्ताले संविधानको मस्यौदा च्याते

उदय जीएम
दाङ, ३ साउन:  नेत्रविक्रम चन्द “विप्लव”ले नेतृत्व गरेको नेकपा माओवादीनिकट युवाहरुले आइतबार दाङमा नयाँ संविधानको मस्यौदा र अन्य कागजपत्र च्यातेका छन् । न्याय तथा अधिकार संस्था (जुरी नेपाल)ले आइतबार घोराहीमा आयोजना गरेको मस्यौदासम्बन्धी एक कार्यक्रममा उनीहरुले मस्यौदा च्यातेका हुन् ।कार्यक्रमका लागि आसनग्रहण गराउनै लाग्दा माओवादी कार्यकर्ताहरु मञ्चमा पुगेका थिए । उनीहरुले “नयाँ संविधानको मस्यौदामा हाम्रो असहमति छ” भन्दै च्यातेका थिए । मस्यौदा च्यातेर “नेकपा माओवादी” जिन्दावाद भन्दै उनीहरु कार्यक्रमस्थलबाट बाहिरिएका थिए ।

माओवादीले मस्यौदा च्याते पनि जिल्लाका विभिन्न संघसंस्था तथा समुदायले भने संविधानसभा सदस्यहरुलाई भेटेर आफ्ना लिखित सुझाव बुझाउने क्रम ह्वात्तै बढेको छ । नागरिक समाज दाङले राष्ट्रपति र प्रधानमन्त्रीमध्ये कुनै एक प्रत्यक्ष निर्वाचित हुनुपर्ने र निर्वाचित प्रतिनिधिले बदमासी गरेमा फिर्ता बोलाउन सकिने प्रावधान राख्नुपर्ने सुझाव दिएको छ ।

त्यस्तै सामुदायिक वन उपभोक्ता महासंघ वन महासंघ दाङले सभासद्हरुलाई ९ बुँदे लिखित सुझाव दिएको छ । नयाँ संविधानमा भूस्वामित्व सहितको सामुदायिक वन अधिकार स्थापित गरिनुपर्ने, स्थानीय समुदायलाई वातावरणीय एंव प्राकृतिक स्रोत र सार्वजनिक सम्पत्तिहरुको सामुदायिक रुपमा व्यवस्थापन गर्ने हकको रुपमा स्थापना गरिनुपर्ने, स्थानीय समुदायको प्राकृतिक स्रोतमा सामुदायिक सम्पत्तिको अधिकार स्थापित हुनुपर्ने, वन समूहको योगदानलाई सुनिश्चित गर्न वातावरणीय सेवाको लाभको अधिकार स्थापित हुनुपर्ने र प्राकृतिक स्रोतको आधारमा समुदायलाई उद्यम ब्यवस्थापनको अधिकार स्थापित हुनुपर्ने सुझाव रहेका छन् ।

नयाँ बन्ने संविधानमा  जल, जमिन, जंगल र खनिज स्रोतमाथि जनअधिकार ग्यारेण्टी गरिनुपर्ने, निकुञ्ज र संरक्षित क्षेत्र जनसहभागितामा सञ्चालनको ग्यारेण्टी गरिनुपर्ने, सामुदायिक संस्थाहरुको राष्ट्रप्रतिको योगदानको कदर गर्दै वर्गीकरणका माध्यमबाट राज्यको अर्धस्वामित्वमा रहनेगरी संवैधानिक रुपमा सुनिश्चित गरिनुपर्ने, सामुदायिक वन समूहहरुमा पर्यापर्यटन र जंगली जनावरण तथा पंक्षीपालन, संरक्षण र उचित व्यवस्थापनका माध्यमबाट ब्यापारिक प्रयोजनको सुनिश्चितता गरिनुपर्ने सुझाव दिइएको सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष शोभाकर सापकोटाले जानकारी दिए ।