Live Streaming

सुख्खा पहिरो खस्दा बेनी बालढुंगा सडक अवरुद्ध

माया अधिकारी

पर्वत,३ साउन ।  पर्वतको कुश्मा नगरपालिका १ मालढुंगा नजिकै सुख्खा पहिरो खस्दा वेनी–मालढुंगा सडक अवरुद्ध बनेको छ । बिहान ८ बजेदेखि पहिरो जाने क्रम सुरु भएपछि सडक अवरुद्ध बनेको हो । करिब ३ सय मिटर माथिको पहाडबाट निरन्तर पहिरो खसिरहेको प्रहरीले जनाएको छ ।

वर्षा नभए पनि सुुख्खा पहिरो गएर बाटो पुरिंदा सडक अवरुद्ध भएको हो । ठूलो भीर माथिबाट निरन्तर पहिरो खसिरहेका कारण तत्काल सडक खुलाउन समस्या परिहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । भुकम्पले हल्लाए जमिन लगातारको वर्षाका कारण पहिरो गएको हुनसक्ने प्रहरीको अनु्मान  छ ।

सो  पहिरो नजिकै सुकुम्वासी बस्ती समेत रहेको छ । माथिबाट पहिरो खसिरहेका कारण उक्त बस्ती समेत जोखीममा परेको छ । बिहान ८ बजेदेखि पहिरो खस्न थालेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा म्याग्दीबाट छुटेका लामो तथा छोटो दुरीका सवारीसाधनहरु खनियाँघाटमा अलपत्र परेका छन् भने अन्यत्रवाट बेनी हिडेका सवारीसाधानहरु मालढुंगामा अलपत्र परेका छन् ।

बाटो खुलाउनका लागि सडक डिभीजन कार्यालयवाट डोजर बोलाईएको र ठुलो संख्यामा प्रहरीहरु समेत परिचालन भएको डिएसपी श्रेष्ठले बताउनुभयो । यसैबीच, हिजोदेखि अबरुद्ध पर्वतको कालिगण्डकी राजमार्ग भने सुचारु भएको छ ।