Live Streaming

आज साउने संक्रान्ति

काठमाडौं,१ साउन । साउने संक्रान्ति पर्व आज देशभर मनाईदै छ । सौर्यमान् अनुसार सूर्य दक्षिणतर्फ सरी कर्कट रेखामाथि जाने भएकाले यस दिनलाई कर्कट संक्रान्ति पनि भन्ने गरिन्छ । असार महिनाभर हिलोमा पसेर खेतिपाति गर्दा थाकेका किसानहरुले आफन्तसँग रमाईलो गरी मिठा– मिठा परिकार बनाएर खाने गर्दछन् । असारे हिलोबाट आउनसक्ने रोगबाट जोगिन लुतो फाल्ने उद्देश्यले यो चाड मनाइँदै आएको धार्मिक विश्वास छ ।

विभिन्न फलफूल चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाका रोगबाट बच्न सकिने विश्वासका साथ कुकुरडाइनो, कागभलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनीजस्ता औषधिका रूपमा प्रयोग हुने वनस्पतिसमेत बाली आ–आफ्ना घरआँगनबाट चारै दिशामा अगुल्टोद्वारा लुतो फाल्ने गरिन्छ ।

साउनलाई भगवान शिवको पुजा आराधना गरिने महिनाको रुपमा लिइने गरेको छ । शिवलाई खुसि पार्न सोमबार ब्रत बस्ने र पुजाआजा गर्ने भएकाले साउनभर शिवालयहरुमा दर्शनार्थीहरुको घुँइचो लाग्ने गर्दछ । यस्तै हरियो चुरा र मेहन्दीको महिनाका रुपमा समेत मनाउने गरिन्छ । विशेषत हिन्दु धर्मममा विश्वास राख्न महिलाहरुले हरियो चुरा तथा मेहेन्दी लगाएर साउनलाई एउटा पर्वकै रुपमा मनाउने गरेका छन् ।