अबिरल वर्षासँंगै ठाउँठाउँमा बाढी पहिरो

काठमाडौं,३१ असार । लगातार पानी पर्न थालेपछि देशका विभिन्न भागमा बाढी र पहिरोको समस्या देखिएको छ । तराई क्षेत्रमा बाढी आउन र पहाडी क्षेत्रमा पहिरो खस्न थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । अबिरल वर्षापछि झरेको पहिरोले पोखराको छोरेपाटनमा रहेको भुपु सैनिक उच्चमाध्यमाकि विद्यालयको भवन पहिरोले पुरिएको छ । परीक्षा चलिरहेको भवनमा पहिरो झरेपछि विद्यालयको चारवटा कोठा भत्किएको छ । पहिरोमा पुरिएका विद्यार्थीको उद्धार भइरहेको प्रहरीले जनाएको छ ।
पहिरोमा परेर १४ वर्षका सञ्जय गायकको मृत्यु भएको छ । अरु ८ जना बिद्यार्थी र ५ जना शिक्षक शिक्षिका घाइते भएको सहकर्मी प्रेम नेपालीले जनाएका छन् । यसैबीच, पोखराका विभिन्न स्थानमा भ्वाङ पर्न थालेको छ । हिजो रातिदेखि परेको झरीले अर्मला, नदीपुर र सिमचौर लगायतका स्थानमा जमिन भासिएको स्थानीयबासीले जानकारी दिए । कास्कीको अर्मलामा केही दिनदेखि परेका भ्वाङ पानीले भरिएर ताल परेको छ । पानी निकासको लागि बनाइएको ड्रेनको समेत तीन मिटर भाग भत्काएर लगेको छ । गएराति परेको वर्षाका कारण बबई र कर्णाली नदीमा आएको बाढीले बर्दियाका विभिन्न स्थानका करिब ७ सय घर डुबानमा परेका छन । भीषण पानी परेपछि बिहान करिब ३ बजे बबई र कर्णाली नदी गाउँ पसेको हो ।
कर्णाली नदीको कारण राजापुर क्षेत्रको गोला, मनाउँ, सूर्यपटुवा गाविस र राजापुर नगरपालिकाका नदी आसपासका क्षेत्र डुबानमा परेका छन् भने त्यसैगरी बबई नदीका कारण महम्मदपुर, पदनाह, बनियाभार, बगनाह र गुलरिया नगरपालिकाका नदी आसपासका करिब ७ सय भन्दा बढी घर डुबानमा परेका छन । त्यसैगरी बबई नदीका कारण गुलरिया–नेपालगन्ज हुलाकी सडकखण्डको बाटो माथिबाट पहिरो बग्न थालेपछि सो सडकखण्ड अवरुद्ध भएको छ । राति करिब ३ बजे बाढी गाउँमा पसेपछि मानवीय क्षति नभए पनि खाद्यान्न अन्नबालीमा क्षति भएको बाढीपीडितले बताएका छन । बाढी आएपछि बढी जोखिम हुने गुलरिया नगरपालिकाको नदी किनाराका बस्ती, महम्मदपुर, पदनालगायतका क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई उद्धार कार्यमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले जानकारी दिनुभयो ।
कालिखोला बढेर बस्तीतिरको ड्याम भत्काएर लगेको विपद् व्यवस्थापन तथा निर्माण समितिका अध्यक्ष लिलाधर आचार्यले जानकारी दिनुभयो । उहाँले अर्मलामा वर्षाले भ्वाङहरुमा पानी भरिएपछि स्थानीयबासी त्रसित बनेका बताउनुभयो । नदीपुरमा अम्मरबहादुर परियारको आँगन, सिमलचौरमा घनश्याम पौडेलेको घर नजिकैको जमिन भास्सिएको छ । क्षेत्रीय हावापानी कार्यालय पोखराले बिहान पौने नौ बजेसम्म पोखरामा २ सय २४ मिलिलिटर पानी परेको जनाएको छ । कार्यालयका प्रमुख रामचन्द्र ढकालले मनसुन सक्रिय भएकोले भोलि साँझसम्म वर्षा जारी रहने अनुमान गरिएको बताउनुभयो ।
यता सिन्धुपाल्चोक जिल्लामा गएरातिको वर्षापछि झरेको पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको छ ।बाह्रबिसे–तातोपानी सडकखण्डको गाती, बसेरी, तातोपानी, घट्टेखोला र लिपिङबजारमा पहिरो जाँदा अरनिको राजमार्गको यातायात सेवा गएरातिदेखि अवरुद्ध हुन पुगेको हो ।केही दिनपछि चीनको सशस्त्र प्रहरीले तातोपानीदेखि बाह्रबिसेसम्म सडक खुलाई यातायात सञ्चालन गरिदिने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिनुभयो ।
यसैबीच, अविरल वर्षाले हेटौँडा कुलेखानी सडकखण्डको सिस्नेरीमा पहिरो जाँदा हेटौँडा कुलेखानी सडक अवरुद्ध भएको छ । हेटौँडा, कुलेखानी –काठमाडौँ आउने÷जाने यातायातका साधनहरु बिहानै त्रिभुवन राजपथबाट सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मौसम अनुकूल भएमा दिउँसोबाट पहिरो हटाई काठमाडौँ–हेटौँडा र हेटौँडा–काठमाडौँ यातयात सेवा सञ्चालन गर्ने तयारी भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले बताउनुभयो । हेटौँडा कुलेखानी सडकअन्तर्गत दैनिक ७ सय ५० वटा सुमो जिपसञ्चालन हुँदै आएको छ ।