Live Streaming

छेटु शेर्पा संखुवासभा

छेटु शेर्पा संखुवासभा

नुम गाविसबासी जोखिम मोलेर खोला तर्न वाध्य

संखुवासभा,३१ असार  । संखुवासभाको उत्तरी क्षेत्रमा पर्ने नुम गाविसमा रहेको माङसिमा खोलामा पुल नहुँदा स्थानीयवासीलाई अवात–जावतमा समस्या भएको छ । खोलामा पुल नभएपछि स्थानीयबासीले फड्के बनाएर जोखिमपूर्णरुपमा खोला तर्ने गरेका छन् ।

माङसिमा खोलामा पुल नहुँदा नुम गाविसको माङसिमा र पेपुवालगायत ६ वटा गाउँका बासीन्दाहरु हरेक वर्ष वर्षायाममा यसरी नै जोखिम मोलेर खोला तर्न बाध्य छन् । खोलामा भरपर्दो पुल बन्न सकेको छैन । स्थानीयले आपत्का बेला खोला तर्न काठ र बाँसको प्रयोग गरी फड्के बनाएका छन् । तर यो फड्केबाट खोला तर्न जो कोहीलाई सजिलो छैन । निकै साहस जुटाएर फड्केबाट खोला तर्नुपर्छ । केही कथम खुट्टा चिप्लिएमा सिधै खोलको भंगालोमा परिन्छ । 


स्थानीयबासीले जिल्ला विकास समिति र गाबिसमा पुल बनाउन पटक–पटक माग गरे । तर कुनै सुनुवाइ नभए पछि गाउँले नै मिलेर फड्के बनाएर खोला तर्ने गरेका छन् । कुनै पनि वेला भाँचिने र बाढीले बगाउन सक्ने फड्केबाट दैनिक एकसय भन्दा बढी बासीन्दा आवत–जावत गर्ने गर्छन् । यस्तै माङसिमा र पेपुवाका बासीन्दालाई गाउँसम्म पुग्न अर्को इन्दुवाखोला समेत तर्नु पर्ने हुन्छ ।
तर त्यस खोलामा समेत पुल छैन । जसका कारण माङसिमा र पेपुवा लगायत क्षेत्रका बासीन्दालाई वर्षा याम लागेसँगै आवात–जावतमा समस्या हुने गरेको छ । जिल्ला विकास समिति संखुवासभाका योजना शाखाका कर्मचारी महेश गौतम भने माङसिमा र इन्दुवा खोलामा पुल निर्माणका लागि आउँदो बर्षमा प्रस्ताव गरिने बताउनु हुन्छ ।  

नुमको बिकट यस क्षेत्रमा ६ वटा गाउँ छन् । खोलामा पुल नहुँदा ६ वटा गाउँबाट नुम गाविसको कार्यालय तथा सदरमुकाम खाँदवारीसम्म पुग्नका लागि वर्षाको समयमा समस्या हुने गरेको छ । यस्तै एक गाउँबाट अर्को गाउँमा जान समेत समस्या हुने गरेको स्थानीय कमानसींह तामाङ बताउनुुहुन्छ । 

माङसिमा र पेपुवाबासीले माथिल्लो सरकारी निकायले आफुहरुको समस्या समाधानप्रति चासो नदिएको गुनासो गरेका छन् । दैनिक सयौं वटुवाहरु आवत–जावत गर्ने खोलामा पुल नहुँदा उनीहरु जोखिम मोलेर खोला तर्ने गरेका छन् । जसका कारण कुनैपछि बेला मानवीय क्षति हुनसक्छ । तसर्थ  सरोकारवाला निकायले तत्काल यसतर्फ ध्यान दिन जरुरी छ ।