दु:खले बनाएको घर भुकुम्पले ध्वस्त पारेपछि
भानुभक्त आचार्य
हेटौंडा,३१ असार । बाह्र वर्ष पछि खोला पनि फर्कन्छ भन्ने उखान राक्सिराङका मानबहादुर प्रजाको जीवनमा प्रत्यक्ष लागू भएको छ । २०५९ सालको बाढीले ध्वस्त बनाएको मानबहादुरले धेरै मिहेनत गरेर जोडेको घर बैशाख १२ को बिनाशकारी भुकम्पले ध्वस्त बनायो । मकवानपुरको पश्चिमी क्षेत्र मनहरीबाट करिब २ घन्टाको पैदलयात्रामा पुगिने राक्सिराङ–८ कुतसिङका रामबहादुरलाई २०५९ साउनको बाढीले सुकुम्बासी नै बनाएको थियो । आफ्नो परिबारको जीबिकोपार्जन गर्ने खेत र बारी बगाउने खोलाप्रति निकै रिस उठेपछि केही समय खोलालाई मुद्दा हाल्न भनेर हेटौंडा बजारमा धाएका थिए मानबहादुर ।
खोलालाई मुद्दा हाल्ने कुरामा कतैबाट पनि सहयोग नपाएर भौतारिएका मानबहादुरलाई हेटौंडाको एक गैरसरकारी संस्थाका कर्मचारीले खोरियामा केराखेती गर्न सुझाएका थिए । बाढीपहिरोले ध्वस्त भएको पाखो र खोलाले बगर बनाएको खेतमा पुन खाल्डो खनेर रामबहादुरले केरा, अंम्रिसो, कागतीलगायतका बोटबिरुवा रोपे । यसबाट परिबारको पेट पाल्न सकिएला जस्तो लागेकै थिएन रामबहादुरलाई । तर, एक वर्षपछि केरा र अम्रिसो बिक्री हुन थालेपछि उनी निकै हौसिए । केरा बेचेकै पैसाले बनाएको रामबहादुर घरको बैशाख १२ गते लडेपछि अहिले गोठ बारेर बसेका छन् ।
ढुंगा माटोको जोडाई र जस्तापाता लगाएर बनाएको घर लडेपछि तीनदिनसम्म भात खान पनि मन नलागेको बताउने रामबहादुरले रेडियो अन्नपूर्ण पोष्टसँग भने, भत्केको घर सफा गर्न मात्र ६ जना मान्छे लाग्यो । दैनिक दुई सय ज्याला दिएर भग्नावशेष हटाएपछि गोठमा पुरानो जस्तापाताले छाएर त्यसमाथि पनि त्रिपाल राखेर अहिले बसिरहेका रामबहादुरको परिबारमा तीन छोरीसहित ५ जना छन् । भुकम्पले घर लडेपछि राहतस्वरुप विश्व खाद्य कार्यक्रमले रामबहादुरलाई ८ हजार रुपैयाँ नगद दिएको थियो । त्यो पैसाले १२ सय रुपैयाँको ३० केजी चामल किनेको उनले बताए ।
घरको भग्नावशेष हटाउने, गोठ छाउने, बिरुवा रोप्न खाल्डो खन्ने काममा प्रयोग गरेर अब दुई हजार नगद बाँकी रहेको रामबहादुरले बताए । रामबहादुर जस्तै राक्सिराङका दुई सय ९१ जनाको घर भत्केको थियो । तिनीहरुलाई ८ हजार रुपैयाँ दिएर केरा, कागती र अम्रिसो खेती गर्नका लागि खाल्डो खन्न लगाइएको मनहरी विकास संस्थाका कर्मचारी नबीन सुबेदीले बताए । भुकम्प पछि असारको अन्तिम सातासम्म १९ हजार केराको बिरुवा रोपिसकेको सुबेदीले जानकारी दिए । राक्सिराङका चेपाङ तथा तामाङ समुदायले उत्पादन गरेको केराको बजार हेटौंडा, नारायणगढ, पोखरा हो ।
कुतसिङका ५२ वर्षीय सन्तबहादुर चेपाङले ४ सय ५० बोट केरा रोपेका छन् । एक वर्षपछि केराले नगद कमाइ हुने कुरामा सन्तबहादुरको परिवार ढुक्क भएको छ । उनीहरुको बस्तीको माथि डाँडामा भुकम्पले चिराचिरा परेको छ । बर्खामा कुनबेला पहिरो जाने हो भन्ने कुराको त्राश कायमै छ । बस्ती असुरक्षित छ भन्ने थाहा भएर पनि जाने ठाउँ कतै नभएपछि चेपाङ परिवार जोखिम स्थानमै बस्न बाध्य भएका छन् ।