Live Streaming

​राहतको चामल बंगुरलाई

सुवास योञ्जन
चरीकोट ३१ असार । दोलखामा राहतको लागि आएको चामल नेपाली सेनाले बगुर को लागि दिएको खुलासा भएको छ । जिल्लाको ३५ प्रतिशत भन्दा बढी घरधुरीमा अझै पनि प्रयाप्त राहत पुग्न नसकेको तथ्याङ्क आइरहेको बेला तत्कालीन बर्द बहादुर गणमा भण्डारन गरिएको खाद्यान्न भने कुहिएर बगुर लाई दिएको खुलासा भएको हो । 


जिल्लामा रहेको तत्कालीन बर्द बहादुर गणले भीमेश्वर नगरपालिकाको वडा नम्वर १० मा पर्ने चोथाङमा तरकारी पसल सञ्चालन गर्दै आएका लालबहादुर तामाङलाई बगुरको लागि भन्दै १०३ बोरा कुहिएको चामल दिएको खुलासा भएको हो । सो चामल विभिन्न निकायबाट राहत स्वरुप आएको हो । जिल्ला प्रशासन कार्यालय दोलखाले बुधबार सो पसल अनुगमण गर्दा चामल भेटिएको जनाएको छ । 
अनुगमनमा संलग्न भएका सहायक प्रमुख जिल्ला अधिकारी औलख बहादुर आलेले कुहिएको चामल भेटिएको स्वीकार गरे । उनले सो पसलका सञ्चालक तामाङले बर्दबहादुर गण बाट बगुरको लागि दाना(खेर फालिएको भात,तरकारी) ल्याउने गरेको र सोहि क्रममा गणले कुहिएको चामल पनि दिइएर पठाएको बयानको क्रममा खुलेको बताए । सहायक प्रजिअ आलेले अनुगमण पछि मुचुल्का उठाएर प्रमुख जिल्ला अधिकारीलाई दिइएको बताउँंदै आवश्यक निर्णय प्रजिअले गर्ने बताए ।

यसै विच प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेले दिने र लिने दुबैलाई अनुसन्धान गर्ने बताए । राहतमा आएका सामाग्रीहरु केहि कुहिएको,सढेगलेको आएमा जिल्ला दैवि प्रकोप उद्धार समितिले निरिक्षण गरेर मात्र व्यवस्थापन गर्ने निर्णय भएपनि सेनाले आफुखुसी रुपमा कुहिएको चामल स्थानीयलाई दिनु गलत भएको भन्दै सेनालाई पनि स्पष्टीकरण लिने र दोषी देखिएमा कारबाही गर्ने बताए ।


स्थानीयहरुले कुहिएको चामल बेचेको भन्दै स्थानीय प्रशासनमा मौखिक जानकारी दिएका थिए । त्यस लगत्तै पसलको अनुगमण गरेको हो ।  यता तामाङले दाना लिन जानेक्रममा गणले कुहिएको चामल गाड्न लागेको खवर पाएपछि बगुरको लागि मागेर ल्याएको बताए । उनले आफुले चामल नबेचेको बरु अरु स्थानीयहरुलाई पनि दानाकै लागि निशुल्क दिएको बताए । तामाङले बगुरको लागि निशुल्क ल्याएको भएपनि स्थानीयहरुलाई भने रक्सि(मदिरा) बनाउनको लागि भन्दै रु पाँच सय मा बेच्ने गरेको जनाएको छ । १४÷१५ जना स्थानीयहरुले सो पसल बाट चामल किनेर मदिरा बनाउनको लागि लगेको श्रोतको भनाइ रहेको छ ।


एकिकृत नेकपा माओवादी का भीमेश्वर नगरपालिका इन्चार्ज एवंम स्थानीय नविन लामाले केहि स्थानीयहरुले चामल लगेको सुनेको बताए । उनले यस्मा व्यापारी भन्दा पनि नेपाली सेनाको सवै भन्दा ठुलो दोषी भएको भन्दै स्थानीय प्रशासन मुखदर्शक भएकै कारण यस्तो अवस्था आएको बताए । स्थानीयहरु चामल नपाएर छटपटाइ रहेको बेला सेनाले ब्यारेकमा चामल कुहाएर राख्नु गम्भिर अपराध भएको भन्दै कडा कार्वाही गर्नुपर्ने बताए । 


जिल्ला दैवि प्रकोप उद्धार समितिलाई ओझेलमा पार्दै सेनाले आफ्नो ब्यारेकलाई राहत भण्डारण केन्द्रको रुपमा विस्तार गरेको थियो । यस विषयमा विभिन्न राजनितिक दलहरु र कर्मचारी बाट विरोध भएपनि सेनाले एक्लौटी रुपमा राहत भण्डारण गर्दै आफैले वितरण गरेको थियो । बर्द बहादुर गणका एक अधिकृतलाई राहत वितरणमा अनियमिता गरेको भन्दै केहि महिना अघि कार्वाही स्वरुप सरुवा समेत गरेको थियो । श्रोतका अनुसार ति अधिकृतले गण बाट राहतमा आएको टेन्ट आफ्ना आफ्न्तलाई इन्डियन हेलिकप्टर मार्फत राजधानी  पठाउने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा आफ्न्तको साथ बाट सेनाले नै नियन्त्रणमा लिएको थियो । आफ्न्तको बयानको क्रममा बर्द बहादुर गणका उच्च कर्मचारीले पठाएको बताइएको थियो ।