Live Streaming

युरोपियन युनियनको सर्र्त ग्रीस सदनबाट अनुमोदन

एजेन्सी,३१ असार । ऋण संकट समाधानका लागि युरोपियन युनियनले राखेको सर्तहरुलाई ग्रीस सदनले  अनुमोदन गरेको छ । ब्रसेल्सले नयाँ आर्थिक सहायता प्याकेजबारे वार्ता हुनुअघि ती सर्तहरुलाई स्वीकार्नुपर्नेमा जोड दिएको थियो । ग्रीक प्रधानमन्त्री एलेक्सिस सीप्रासले ती कदमहरुप्रति आफूलाई विश्वास नभएपनि युरोमुद्रा प्रचलनमा रहेको युरोजोनभित्र ग्रीस रहिरहने हो भने त्यसलाई अनुमोदन गर्नुको विकल्प नभएको बताउनुभएको थियो ।

२ सय २९ जना सांसदले पक्षमा मतदान गरे भने ६४ जना सांसदले विपक्षमा मतदान गरे । विपक्षमा मतदान गर्नेहरुमध्ये आधाजसो सत्तारुढ सिरिजा पार्टीकै सांसदहरु छन । तीमध्ये गत साता राजीनामा दिएका पूर्व अर्थमन्त्री यानिस भारुफाकिस पनि रहेको बीबीसीले उल्लेख गरेको छ । युरोजोनको शर्त अनुसार करमा बृद्धि, पेन्सन कटौती र श्रम कानुनका लागि अदालती निर्णय मान्नु पर्ने उल्लेख गरिएको छ  । प्रस्ताबमा युरोजोनका दाताहरुले निश्चित सर्तमा ग्रिसलाई आर्थिक सहायता दिनेछन् ।संसदमा मतदान हुनुअघि मितव्ययीताको विरोधमा उत्रिएका प्रदर्शनकारीहरुले संसद भवन नजिकै प्रहरीमाथि पेट्रोल बम प्रहार गरेका थिए । जवाफमा प्रहरीले प्रदर्शनकारीमाथि अश्रु ग्यास प्रहार गरेको थियो ।