आज पेस्की खर्च विधेयक प्रस्तुत हुँदै
काठमाडौं,३१ असार । सरकारले व्यवस्थापिका संसदमा आज पेस्की खर्च विधेयक प्रस्तुत गर्दैछ । चालु आर्थिक वर्षको अन्तिम दिन आजसम्म पनि व्यवस्थापिका संसदले पूर्ण बजेट पारित गर्न नसकेपछि सरकारले कूल बजेटको एक त्रितियांश खर्च गर्न सक्ने गरी अघिल्लो चार महिनाका लागि पेस्की खर्च विधेयक ल्याउन लागेको हो । भोलीबाट नियमित कामकारवाही सञ्चालनका लागि सरकारलाई अप्ठ्यारो पर्ने भएपछि विधेयक आजै पारित गर्नुपर्ने बाध्यता संसदलाई छ ।
यसका लागि बिहान ११ बजे बैठक बोलाइएको छ । संसद सचिवालयका अनुसार, सामान्य छलफल पछि पेस्की खर्च विधेयक पारित गर्ने तयारी छ । यस्तै आजै विभिन्न मन्त्रालयको शीर्षकमा बिनियोजित विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक अर्थमन्त्री रामशरण महतले संसदमा प्रस्तुत गर्नु हुनेछ । सभासद्हरु भोलीबाट संविधानको मस्यौदामा सुभाव संकलनका लागि सम्बन्धित क्षेत्रमा जाने भएकाले ती विधेयकमाथिको छलफल भने साउनको दोस्रो सातादेखिमात्र संसदमा सुरु हुनेछ ।
यसअघि, अर्थमन्त्री महतले बजेटको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनुहुनेछ । सत्तारुढ एमालेसहित प्रतिपक्षी दलहरुले हिजो एक दिनमात्र भएको छलफलमा बजेटको बिरोध गर्दै सम्सोधन नगरे पारित हुन नदिने चेतावनी समेत दिएका थिए ।