बजेट पारित हुन नदिने एमालेको चेतावनी

काठमाडौं,३० असार । सत्ता साझेदार दल नेकपा एमालेले बजेटमा भएका त्रुटी तत्काल नसच्याए बजेट पारित हुन नदिने चेतावनी दिएको छ । बिहान बसेको संसदीय दलको बैठकमा सभासदहरुले बजेटमा कांग्रेस हावी भएको र एमाले सत्तामा भएको अनुभूति नभएको भन्दै गम्भीर आपत्ति जनाएका छन् ।
उपाध्यक्ष विद्यादेवी भण्डारीले मदन भण्डारी, पुष्पलाल र महनमोहनलाई अपमानित गर्ने गरी ल्याइएको यो बजेट पारित गर्न नहुने बताउँदे बजेटको तृतीयांशमात्रै पारित हुनुपर्ने र बाँकी बजेट नयाँ सरकारले ल्याउनुपर्नेमा जोड दिनुभयो ।
सभासद राजेन्द्र पाण्डेले जननेता मदन भण्डारीलाई कांग्रेसका सभासद हरि खड्कासँग दाँजेर ट्रमा सेन्टरको नाम राखिएको भन्दै एमालेको अपमान गरेको बताउनुभयो । पेश्की बजेटमाथि छलफल हुनुअघि एमाले संसदीय दलको बैठकमा सभासदहरुले बजेट निर्माण गर्नेबेला एमालेका मन्त्रीहरु निरीह देखिएको आरोप समेत लगाएका छन् । पार्टी नेतृत्वले समेत बजेट एकपक्षीय भएको धारणा राखेका छन । संसदयि दलको बैठक भोली फेरी बस्नेछ ।