नेपाली कागजलाई बजारको अभाव

माया अधिकारी
पर्वत,३० असार । जिल्लामा उत्पादीत नेपाली कागजलाई बजार अभाव भएको छ । शालिजा गाविसमा रहेको सामुदायिक लोक्ता प्रशोधन उद्योगबाट उत्पादित कागजले बजार पाउन नसकेको हो । दुर्गम गाउँमा संचालित उद्योगले उत्पादन गरेको कागज स्थानीय बजारमा नबिक्ने र बाहिरी जिल्लामा पठाउँदा कम गुणस्तरको नेपाली कागजसँग प्रतिस्पर्धा गर्न नसक्ने भएकाले समस्या भएको हो । गुणस्तरिय लोक्ताबाट तयार पारिएको कागजले बजारमा विभिन्न केमिकल तथा केराको रेशाबाट तयार पारेको कागजसँग प्रतिस्पर्धा गर्न नसक्दा उद्योग समेत समस्यामा परेको हो ।
हामीले १ प्रति कागज तयार गर्दा १८ रुपीयाँ लागत पर्छ शालिजा सामुदायिक लोक्ता प्रशोधन उद्योगका उद्यमी तुल बहादुर खोर्जाले भन्नुभयो, कच्चा पदार्थदेखि उत्पादनसम्म न्यून मूल्य राख्दा पनि बाहिरको कागजसँग प्रतिस्पर्धा गर्न सकेनौं । बजारमा पाइने कम गुणस्तरका कागजले गर्दा राम्रो भएपनि बजारमा ठाउँ लिन नसक्दा उद्यमीहरु विकल्पको खोजिमा लागेका छन् ।
उद्योगबाट उत्पादित कागजले बजार नपाएपछि उद्यमीहरुले अहिले डायरी तथा नोट बुक बनाएर बेच्न थालेका छन् । यसरी नोटबुक बनाएर बेच्दा केही फाईदा हुने देखेपछि उनीहरु विकल्पमा लागेका हुन् । यहाँ उत्पादन भएका नोटबुक पोखरामा रहेको महिला विकास केन्द्र नामको संस्थाले खरिद गरिदिने भएकाले केही सहज भएको उद्यमी खोर्जाको भनाई छ ।
अहिले उद्योगमा उद्यमीहरु काममै व्यस्त हुने गरेका छन् । उनीहरुले घाम लागेको बेलामा कागज तयार गराउने र वर्षा तथा चिसो समयमा उद्योगमै बसेर डायरी बनाउने काममा तल्लिन हुने गरेकाछन् । उद्योगबाट मासिक सिजनमा करिब ३० देखि ५० हजार बराबरको कागज उत्पादन हुने गरेको स्थानीय प्रताप पुनले बताए ।
गाउँमा संचालित यस उद्यमले अहिले प्रत्यक्ष रुपमा ७ जनाले रोजगारी पाएका छन् भने अन्य १० जनाले लोक्ता प्रशोधनको समयमा आंशिक रोजगारी पाउने गरेका छन् । यसले गाउँमा रोजगारीका साथै आत्मनिर्भर बनाएको भए पनि उद्योगमा आवश्यक समाग्रीहरु नहुँदा सानो कामको लागि पनि धेरै मेहेनेत गर्नुपर्ने बाध्यता रहेको उनीहरुको भनाई छ ।
उद्योगमा विभिन्न संघ संस्थाहरुले सहयोग गरेर केही मेसिनहरु राखिएको भएपनि प्रयाप्त नहुँदा सोचे अनुरुपको सामान उत्पादन गर्न सकिएको छैन । उद्योगमा डायरी बनाउन पनि आवश्यक सामाग्रीहरु नहुँदा सामान्य रुपमा तयार गरेर पोखरा पठाउने र पोखराको संस्थाले आफ्नै लोगो हालेर बेच्दा आफ्नो सामानको पहिचान हराएकोमा उद्यमीहरु खिन्न छन् ।
हाम्रो सामानले बजार पाएकोमा हर्ष लाग्छ उद्यमी खोर्जाले भने तर आँफुले तयार गरेको सामानलाई अरुले आफ्नो बनाएर बेच्दा भने खिन्न हुने गरेका छौं । जिल्लामा वर्षेनी उद्यमका क्षेत्रमा करोडौं रुपीयाँको कार्यक्रम हुने गरेको भएपनि यस्ता उद्यमलाई आवश्यक सहयोग नहुँदा समस्यामा पर्ने गरेको भएपनि यसतर्फ कसैले ध्यान नदिएको स्थानीय प्रताप पुनले बताउनुभयो ।