Live Streaming

बुढीगंगा नदीले हजारौँ रोपनी जमिन बगरमा परिणत गर्यो

शिवराज खत्री
अछाम, २७ असार । साँफेबगर नगरपालिका–६ का पवित्रा कुँवरलाई बर्खायाम लाग्ने वित्तिकै एउटै चिन्ताले सताउने गर्दछ, त्यो हो बुढीगंगा नदि कटान । उनको पाँच रोपनी भन्दा बढी जमिन हालसम्म बुढीगंगाले बगरमा परिणत गरिसकेको छ । त्यही बुढीगंगाले कटान गर्न बाँकी रहेको दुई रोपनी जमिन पनि कुन बेला कटान गर्ने हो भन्ने पवित्रालाई चिन्ता छ ।  ‘तराईको कुनै उर्वर भूमिको भन्दा कम खेती उब्जाउ हुँदैन थियो मेरो खेतमा’ पवित्राले भनिन्–‘अहिले मेरो जमिनमाथि बुढीगंगा बगिरहेको देख्दा मुटु भक्कानिएर आउँछ ।’ बचेको दुई रोपनी जमिन पनि कुन बेला कटान गर्ने हो भन्ने चिन्ता छ । पानी पर्ने वित्तिकै नदीले जमिन कटान गरिहाल्यो कि भनेर चिन्ताले पिरोल्ने गरेको उनले सुनाइन् । तराईको उर्वर भूमिको जस्तै अन्न फल्ने साँफेवगरको उक्त जग्गाको सरकारी मुल्यांकन प्रति रोपनी १० लाख रहेको छ । 


स्थानीयको खेतबारी मात्र नभएर सरकारले निर्माण गर्न लागेको मध्य पहाडी लोकमार्ग अन्र्तगतका देशभरका १० उत्कृष्ट सहरमा विकास भइरहेको साँफेबगर बजार क्षेत्र पनि बुढीगंगा नदीको उच्च जोखिममा रहेको छ । पवित्राको मात्र होईन स्थानीय धन्नाथ बुढाको त बुढीगंगा नदीले १० वर्ष पहिले नै घरसहित सात÷आठ रोपनी जमिन कटानी गरेको छ । उर्वर खेतीयोग्य जमिनसहित घरसमेत बगरमा परिणत भए पछि उनको परिवार नै विस्थापित भएको छ । तत्कालिन मष्टामाण्डौ गाविसका पवित्रा र धन्नाथ जस्तै थुप्रै किसानको हजारौँ रोपनी उर्वर भूमि बुढीगंगा नदीको बगर बनेको छ । अछाम जिल्लामा बुढीगंगा नदिले कटान गर्ने क्षेत्र मष्टामाण्डौ बाहेक हालको साँफेबगर नगरपालिका भित्रपर्ने तत्कालिन मष्टामाण्डौ, रिडीकोट र बैद्यनाथ गाविस हुन् । बुढीगंगा नदीले यहाँका स्थानीयको वर्षेनी सयौँ बिगाह खेतीयोग्य जमिन बगरमा परिणत गरिरहेको छ । यो नदीले अछाम बाहेक बाजुरा जिल्लामा पनि वर्षेनी सयौँ रोपनी जमिन बगरमा परिणत गर्दै आएको छ । 


बुढीगंगा नदीको कटान नियन्त्रणका लागि राज्यबाट भरपर्दो ढंगले योजना बन्न नसक्दा यसले बर्षेनी आप्mनो क्षेत्र फराकिलो बनाउँदै गइरहेको छ । नदी कटान नियन्त्रणका लागि हाल सम्म खर्च भएको छ करोड बढी रकम बालुवामा पानी हाले सरह भएको छ । 
सरकारले बर्षेनी ४० देखि ५० लाख रकम नदी नियन्त्रणका लागि दिने गरे पनि त्यसको उचित सदूपयोग हुन नसक्दा नदी नियन्त्रण हुन नसकेको छैन । बर्षेनी तट्बन्ध निर्माण गरिँदै आए पनि नदीले कटान गर्न छोडेको छैन । नदी कटान नियन्त्रणका लागि जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय डोटीबाट बर्षेनी लाखौं रकम आउने भएपनि उपोभक्ता समितिका अध्यक्ष तथा डिभिजन कार्यालयका कर्मचारीको मिलेमतोमा रकम हिनामिना हुने गरेको स्थानीय अगुवा शिलोज कुवँरको आरोप छ । पहुँचका आधारमा तटबन्धन निर्माणको योजना वितरण हुने गरेकाले लगानी बालुवामा पानी भएको कुँवरले बताए । जुन बर्ष तट्बन्धन निर्माण ग¥यो त्यहि बर्षको बाढीले बगाउने गरेको छ । 


उत्तरबाट बुढीगंगा नदि तथा दक्षिणबाट छिपेखोलाले कटान गर्दा साँफेबगर बजार क्षेत्र साँघुरिदै गएको छ । नदि कटानकै कारणले साँफेवगरको उत्तर दक्षिण अवस्थित बिमानस्थलको करिब २५ मिटर जग्गा २०६३ मा आएको बाढिले कटान गरेको साँफे एरपोर्टबजार व्यवस्थापन समितिका सचिव हेम महरले बताए । उनका अनुसार बर्षेनी बाढीले जग्गा कटान गर्दै आएको छ । छिपेखोला र बुढीगंगा नदिबाट अनियन्त्रीत रुपमा ढुंगा, बालुवा तथा गिट्टी निकासी भइरहेका कारणले पनि नदि कटानको जोखिम बढेको हो । 

छिपेखोला र बुढिगंगा नदिले जमिन कटान गरेर बर्षेनी आफ्नो क्षेत्र फराकिँलो बनाउँदै गएका छन् । नदि कटानबाट बर्षेनी थुप्रै किसानको जग्गा बगरमा परिणत भइरहेको छ । प्रभावकारी रुपमा तट्बन्धको व्यवस्था नगरे केहि बर्षमै साँफेवगर नदिको बगरमा परिणत हुँने स्थानीय झंकर कुँवर बताउँछन् । नदि नियन्त्रणका लागि बनाईएको तट्बन्ध बगाएर पछिल्लो बर्ष कम्तिमा पनि ४–५ मिटर जग्गा साँघुरिदै गएको उनले बताए ।जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय डोटीले आर्थिक वर्ष २०५८÷०५९ देखि नदि कटानी नियन्त्रणका लागि बार्षिक ४० लाखको हाराहारीमा रकम छुट्याईने गरेको जनाएको छ । जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय डोटीका कर्मचारीलाई जसले २० प्रतिशत सम्म कमिसन बुझाउन सक्यो त्यसैले तट्वन्धको लागि पैसा ल्याउने गरेकाले नदि नियन्त्रणको काम प्रभावकारी हुन नसकेका जानकारहरु बताउँछन् । 


                        तस्विर ः शिवराज खत्री