प्रचण्ड आज भारत जाँंदै

काठमाडौं,२९ असार । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल एक साता लामो भ्रमणका लागि आज भारत जाँदैहुनुहुन्छ । भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा हुन लागेको भ्रमणका लागि अध्यक्ष दाहाल अपरान्ह सवा ४ बजे दिल्ली प्रस्थान गर्ने उहाँको निजि सचिवालयले जनाएको छ । भ्रमणका क्रममा चीन, नेपाल र भारतबीचको त्रिदेशीय साझेदारी लगायत मुख्यत पाँच वटा एजेण्डामा छलफल हुने दाहालको निजि सचिवालयले जनाएको छ ।
नेपाल र भारतबीच ऐतिहासिक सद्भाव र मित्रतालाई अझ मजबुत बनाउन विद्यमान केही असमझदारी सम्बोधन गर्नु पनि जरुरी रहेको र सो विषयमा पनि कुराकानी हुने उहाँ निकट श्रोतले जनाएको छ । भारत भ्रमणका क्रममा दाहालले राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराज लगायतसँग भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको दाहालका स्वकीय सचिव चुडामणी खडकाले जानकारी दिनुभयो