Live Streaming

नेपालको कमजोर ब्याटिङ्गमा आयरल्याण्डको शानदार जित

काठमाडौं, २८ असार ।
नेपालले Twenty\20 बिश्वकप क्रिकेट छनौट प्रतियोगिता अन्तरगत  सोमबार राती भएको खेलमा आयल्याण्डसँग लज्जास्पद हार ब्यहोरेको छ । जारी प्रतियोगितामा पहिलो पराजय ब्यहोर्ने क्रममा नेपाल बलियो प्रतिद्वन्दी आयरल्याण्डसँग ८ विकेटले पराजित हुन पुग्यो । पराजयसँगै नेपाल ३ अंकमा समुह ए को चौथो स्थानमा धकेलिएको छ । तीनै खेलमा जित निकालेको आयरल्याण्ड ६ अंकमा शीर्ष स्थानमा छ । समान ३ अंक भएपनि पपुवान्युगिनि र नामिबिया रन रेटका आधारमा दोस्रो र तेस्रो स्थानमा छन् । हङकङ्ग, पपुवान्युनिगी र जर्सीसँगको खेल बाँकी रहँदा नेपाललाई सवै खेलमा जित्नै पर्ने दवाव बढेको छ ।


अत्यन्तै कमजोर ब्याटिङ्ग गरेको नेपाल १४ ओभर ३ वलमा ५३ रनमा अलआउट भयो । Twenty\20 ईतिहासमा यो नेपालको सर्वाधिक कम योगफल हो भने अन्तराष्ट्रिय स्तरमा दोस्रो । बंगलादेशमा भएको प्रतियोगितामा श्रीलंकाले नेदरल्याण्डस्लाई ३९ रनमा अलआउट गरेको थियो ।

पहिलो विकेट १८ रनमा गुमाएको नेपालले थप ३५ रन जोड्न आफ्नो ९ विकेट खर्चको थियो । ओपनर सागर पुनले २० र कप्तान पारस खड्काले १० रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । हिटरहरु प्रदीप ऐरी र बिनोद भण्डारी गोल्डेन डक आउट भएको खेलमा उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिल मण्डल र बसन्त रेग्मी समान २ रनमा आउट भए । शरद भेषावकर र राजेश पुलामी मगर ६–६ रन जोड्दै पवेलियन फर्के । सोमपाल कामी शुन्य रनमा नटआउट रहँदा शक्ति गौचन डक आउट भएका थिए । केभिन ओब्रिएन र स्टुवार्ट थोमसनले समान ३–३ विकेट लिए ।


सोमपालले २ विकेट लिएपनि आयरल्याण्डले ५४ रनको लक्ष्य ८ ओभरमा भेट्टायो । नेल ओब्रिएन र पउल स्टलिङ्गलाई सोमपालले बोल्ड गरेपनि आयारल्याण्डको जित निश्चित भईसकेको थियो । स्टरलिङ्ग २९ र ओब्रिएन ३ रनमा आउट भए । यस्तै पउल पोटरफिल्ड १८ र केभिन ओब्रिएन १ रनमा नटआउट रहे ।


नेपालले आफ्नो चौथो खेलमा भोली हङ्कङ्गसँग प्रतिस्पर्धा गर्नेछ ।