फालिएकी छोरीले पाइन आमाको काख
मनिका झा
जनकपुरधाम, असार २७ गते । बेवारिसे अवस्थामा फालिएकी नवजात छोरीले १५ दिनपछि आमाको काख पाएकी छिन् । जनकपुर उपमहानगरपालिका १ रेल्वे स्टेसन नजिकै झाडीमा फालिएको अवस्थामा स्थानियवासीहरुले उद्यार गरेको नवजात शिशुलाई जनकपुरकै एक दम्पत्तीले धर्मपुत्रीको रुपमा अपनाएपछि फालिएकी छोरीले आमाबुवाको सानिध्य पाएकी छिन् ।
छोरीलाई अपनाउन गाहे मान्ने मधेशी समुदायमा उदाहरणीय काम गर्दै ३५ वर्षीय रामकुमार साह र ३१ वर्षीय निर्मला साहले नवजातलाई गोद लिएका हुन् । बिहे भएको १७ वर्ष भइसक्दा पनि आफ्नो सन्तान नभएपछि चिन्तीत भएका साह दम्पत्तिले सन्तान पाउन धेरै उपचार गराउँंंदा पनि सफल नभएको बताए । टेस्टट्युब बेबी लिन प्रयास गर्दा त्यो पनि गर्भमा रहन नसकेको र त्यसपछि सन्तान पाउने आशा मेटिएको बेला अनायाश बच्ची फालिएको खबर थाहा पाएपछि यसलाई छोरीको रुपमा अपनाएको निर्मलाले बताइन् ।
सबै सुख सुविधा भएर पनि जीवनमा खुशी नभएको बेला एक्कासी छोरी घरमा आएपछि खुशियाली आएको रामकुमारले सुनाए । ‘जसले फाल्यो उसको लागि दुर्भाग्य होला तर, हाम्रो लागि यो बच्चीलाई पाउनु ठूलो स्वभाग्य हो ’रामकुमारले भने । छोरा छोरी जे सुकै भएपनि आफुहरुलाई सन्तानको आश रहेकोले नवजात शिशु भेटिएको थाहा पाउन बित्तिकै उसलाई अपनाउन प्रक्रियामा लागेको रामकुमारले बताए ।
भेटिदा डेढ किलो मात्र तौल रहेको शिशुलाई हाल स्यहार सुसार गर्दै जांदा दुई किलो बनाएको र अब यो नै आफुहरुको जीवन रहेकोले यसको स्यहार सुसारमा कुनै अभाव हुन नदिने निर्मलाले खुशी हुँंदै सुनाइन । १४ दिनसम्म जनकपुर अंचल अस्पतालमा शिशुलाई राखिएको थियो । छोरी भेटेर आफुहरुको सपना पुरा भएकोले उसको नाम पनि सपना राखेको निर्मलाले बताइन ।
पछिल्लो समयमा जनकपुरमा नवजात शिशुहरुलाई फाल्ने क्रम बढ्दै गएको छ । फालिएका शिशुहरु मध्ये छोरा भेटियो भने धर्मपुत्र राख्न निवेदन दिनेहरु थुप्रै आएपनि छोरी भेटियो भने त्यसलाई अपनाउने इच्छा धेरै थोरैले गर्ने गरेको जिल्ला बाल कल्याण समितिका बाल अधिकृत संजिव महतोले बताए ।