Live Streaming

दश वर्षे युद्ध लडेका रोल्पाली पूर्व छापामार के गर्दैछन् ?

खेम बुढामगर
रोल्पा, २८ असार । दश वर्षे युद्धताका थुप्रै रोल्पाली छापामार भए । ति छापामार मध्ये नगन्यले मात्र शान्ति प्रक्रियाका बेला सेनामा समायोजन रोजे । बाँकी सबै स्वेच्छिकमा फर्किए । देशै हल्लाउने ति रोल्पाली छापामार यतिबेला कहाँ, के गर्दै होलान ? चासो सर्वत्र छ । तर, स्वेच्छिकमा फर्किका पूर्व छापामारको आधिकारीक तथ्यांक विभाजित भएका कुनै पनि माओवादीसँग छैन । धबाङ ९ भुम रोल्पाका ३९ वर्षीय घनबहादुर गिरी स्वेच्छिकमा घर फर्किएका पूर्व लडाकु हुन् । लडाकु हुँदा उनी मिसाईल नामबाट परिचित थिए । पूर्व छापामार मिसाईलले अहिले रोल्पाको सदरमुकाम लिबाङ वजारमा फेन्सी पसल संचालन गर्दै आएका छन् ।

तेस्रो डिभिजन चितवन शक्तिखोरबाट स्वेच्छिकमा फर्किएका घनबहादुरले सुरुमा ढुंगा फोड्ने काम समेत गरे । ‘स्वेच्छिकमा फर्किएपछि कारागार नजिकै ढुंगा फोड्ने, हम्बर हान्ने मजदुरी काम थालेको थिएँ । महिनाको नौ हजारसम्म पनि कमाएँ ।, पूर्व छापामार धनबहादुरले विगतलाई प्रष्ट्याए, ‘धेरै माओवादी साथीहरुले ढुंगा फोड्ने, मजदुरी गर्ने अवस्थासम्म पुगेछस् । यो त सुहाएन भनेपछि पसल सुरु गरेको हुँ ।’

श्रमको सम्मानको लडाई लडेका उनलाई उनकै सहकर्मीले मजदुरी गरेको सुहाएन भन्दा अचम्म समेत लाग्यो । यसले नेता र कार्यकर्तामा बदलिंदै गरेको दृष्टिकोणको उनले पनि भेऊ पाए । शिविरमै बस्दादेखि पार्टी, नेता र जनमुक्ति सेनामा विचलन आएको अनुभूति पछि उनी स्वेचिछकमा फर्किएका हुन । युद्धका बेला कम्पनी कमाण्डर रहेका उनी आक्रमणका बेला घाइते समेत भएका थिए । ढाडको समस्य भोगीरहेका उनले सजिलोको लागि व्यवसाय रोजेका हुन । उनका पत्नी आशा राना पनि पूर्व लडाकु नै हुन । छापामार हुँदा विमला भाइस कमाण्डर थिइन । अस्थायी शिविरमै उनीहरुबीच जनवादी विवाह भएको थियो ।

उनीहरु दुवैले सल्लाहमा स्वेच्छि रोजेका थिए । घन फेन्सी स्टोर्श चलाउदै उनीहरुले ४ वर्षीय छोरा पनि हुर्काउँंदै छन् । स्वेच्छिक आउँंदा पाएको रकमबाट उनीहरुले पसल खोलेका हुन । ‘करिब ९ लाख लगानीमा फेन्सी पसल चलाएका छौं ।’ पूर्व छापामार आशा भन्छिन् । पाछाबाङ २ रोल्पाका का दिनेश बुढामगर पनि पूर्व कमाण्डर हुन् । पाँचौं डिभिजन दहवन रोल्पाबाट स्वेच्छिकमा आएका उनी पनि हार्डवेयर एण्ड सप्लायर्समा लागेका छन् । इरिबाङको बागमारामा उनको ठूलो पसल छ । पूर्व विगे्रड भाइस कमाण्डर दिनेश लडाइमा अब्बल मानिन्थे । स्वेच्छिकमा आएपछि उनी प्रत्यक्ष राजनीतिमा संलग्न छैनन् । त्यसो त जिनाबाङका ओमप्रकाश डाँगी ‘विकर्षण’ ले पनि दाङमा गाई पालन गर्दै आएका छन् ।

माओवादीको ऐनान मानिने थबाङ २ का विनप्रसाद पुन ‘टार्जन’ पनि दाङमै इलेक्ट्रिक्स सम्बन्धि व्यापारमा छन् । मिरुलका पूर्व कमाण्डर रामलाल रोका वैद्य माओवादीमा रहेका थिए । चन्द विभाजन भएपछि उनी उति सक्रिय छैनन् । पाँचौ डिभिजन दहवनमा स्वास्थ्य विभाग प्रमुखबाट फर्किएका कोर्चाबाङका पूवै कमाण्डर दिपेन्द्र घर्ती ‘प्रभावकर’ दाङ घोराहीमा क्लिनिक संचालन गरिरहेका छन् । पूर्व लडाकु फविन्द्र आचार्य राजनीति र व्यवसायमा सक्रिय छन् । नेकपा–माओवादीमा उनी सक्रिय नै छन् । भाबाङका केशबहादुर बाठा ‘सुवास’ पनि पूर्व छापामार नै हुन्  । उनी अहिले विप्लव नेतृत्वको नेकपा माओवादी जिल्ला इन्चार्ज छन । पाँचौं डिभिजन दहवनमा सहायक कमाण्डर रहेका कुरेलीका राजबहादु बुढा ‘अविनास’ स्वेच्छिकबाट फर्केपछि एमाओवादीका जिल्ला इन्चार्ज समेत भए । अहिले उनी चितवनमा छन् ।

अन्तराष्ट्रिय जगतमै चर्चा वटुलेका जनमुक्ति सेनाका कमाण्डर राङ्सीका नन्दकिशोर पुन ‘पासाङ’ एमाओवादीको केन्द्रिय राजनीतिमै सक्रिय छन् । इरिबाङमा जन्मिएका नेत्रविक्रम चन्द ‘विप्लव’ पनि अब्बल लडाकु नै हुन । उनी अहिले नेकपा माओवादीको प्रमुख छन् । कोटगाउँका युवा लडाकु कुलप्रसाद केसी ‘सोनाम’ नेकपा–माओवादीमा सक्रिय छन् । जंकोटका वर्षमान पुन ‘अनन्त’ पनि छापामार नै थिए । उनी अर्थमन्त्री समेत भइसके । सबै माओवादीको केन्द्रिय राजनीतिमा सक्रिय रोल्पाका सबै नेता लडाकु पृष्ठभूमिकै हुन् । उनीहरु शान्ति प्रक्रियासँगै खुला राजनीतिमा उत्रिए । धेरै रोल्पाली लडाकु शिविरमा लामो समय वसेर स्वेच्छिकमा बाहिरिएका अधिकांश छापामार गुमनाम जस्तै वन्दै गएका छन ।


    प्रतिनिधी यि रोल्पाका पूर्व लडाकुको हालको कर्मबाट नै स्पष्ट हुन्छ कि, रोल्पाका पूर्व लडाकु के गर्दैछन । एनेकपा माओवादीका जिल्ला अध्यक्ष धु्रवका अनुसार केही पूर्व लडाकु तराईतिर वसाईसराई गरेका छन भने केही व्यवसायमा लागेका छन । कतिपय त विदेश गएका छन । केही गाउँमै खेतीपाती गर्दै गुजारा गर्दैछन । एमाओवादी विचारका पूर्व छापामार गाउँमा फर्किएपछि कतिपयले गाविस स्तरको राजनीतिक अगुवाको जिम्मेवारी पाएका छन । वैद्य र विप्लप माओवादी निकट कतिपय पूर्व छापामार सक्रिय राजनीतिमा पनि छन । तर, अधिकांश पूर्व छापामार गुमनाम जस्तै छन । विडम्वना रोल्पाली छापामार कति थिए र कति जना कहाँ के गर्दै छन भन्ने तथ्यांक भने कसैसँग छैन । एमाओवादी, नेकपा–माओवादी र विप्लव माओवादी कसैसँग पनि पुर्ण तथ्यांक छैन । ‘सबै पूर्व छापामार सम्पर्कमा नभएकाले कसले के गर्दैछन भन्ने एकिन छैन ।’ पूर्व लडाकु मिसाईल भन्छन । 


    पूर्व लडाकु घनबहादुरका अनुसार धेरै रोल्पाली छापामार विदेश पलायन भएका छन । पार्टी विभाजन हुदै गएपछि निराश वनेका उनीहरु विदेशिन वाध्य भएको गुनासो गर्छन् । पूर्व छापामारहरुका अनुसार जिल्लाबाट मात्र युद्धका बेला करिब ८ हजार छापामार थिए । अनमिनले २ हजारलाई अयोग्य भनेपछि करिब ६ हजार रोल्पाली छापामार विभिन्न शिविरमा थिए । ति मध्ये पचासजना पनि समायोजनमा गएनन् । युद्धका अनुभव संगालेका उनीहरु भनेजस्तो परिवर्तन नभएपछि निराश बनेका छन् ।