शिविरमा सुत्केरी र गर्भवतीको विजोग
ललितबहादुर बुढा
सुर्खेत,२८ असार । वर्षौदेखि दुःख गरेर जोडेको घरखेत एकै रातमा बाढीले बगर बनाइ दियो । आफन्त र गाउँका अन्य छिमेकीहरु बाढीमा बगे । बाढीले पुरा गाउँलाई नै उठिबास बनायो । बाँच्ने कुनै आधार नभएपछि सुर्खेत साटाखानी निवासी सरस्वती नेपाली विगत १० महिनादेखि अस्थायी शिविरमा बस्न बाध्य छन् । उनलाई हिजोआज बिहान र बेलुकी के खाने भन्ने समस्याले पिरोलेको छ ।
गएको वर्ष साउनमा आएको बाढीपहिरोका कारण घरबारबिहीन भएपछि उनको परिवार नजिकै रहेको अस्थायी शिविरमा रहेको त्रिपालमा रात कटाउँदै आएको छ । सरकारी तथा गैरसरकारी निकायले राहत उपलब्ध गराउन छोडेको पनि महिनौं भइसक्यो । आम्दानीको स्रोत केही नभएपछि शिविरका अन्य विस्थापितले मजदुरी गरेर छाक टारिरहेको भएपनि साथमा दुई महिनाको बच्चा भएकाले उनले मजदुरी गर्न सक्ने अवस्था पनि छैन । खानाको समस्या, मजदुरीका लागि श्रीमान् विदेश गएकाले त्रिपालको एक्लो र असुरक्षित बसाई, बच्चा विरामी हुँदा उपचार गर्ने पैसाको अभाव र बस्तीदेखि टाढा टांगिएको त्रिपालमा वर्षाको झरीमा भिज्दै रात काट्नुपर्ने बाध्यताका कारण यतिवेला उनको बिचल्ली नै भएको छ ।
अस्थायी शिविरमा बसको एक वर्ष पुग्न लाग्दा समेत सरकारले पुनसर््थापना नगरेपछि शिविरमा रहेका महिलाहरु धेरै पीडित भएका छन् । लामो सयमसम्मको त्रिपालको बसाइका कारण महिलाहरुमा मानसकि समस्या समेत देखा परेको छ । वर्षातको पानीले सुत्ने ओछ्यान् नै भिजाउन थालेपछि सुत्केरी र गर्भवती महिलाहरु समस्यामा परेका छन् । कतिपय सुत्केरीहरु काखमा नाबालकलाई लिएर मजदुरीको लागि भौंतारिरहेका छन् भने गर्भवती महिलाहरुले पनि राम्रो स्याहार पाउन सकेका छैनन् । हरिहरपुरकी मनरुपा कार्कीले गिरीघाटमा रहेको शिविरमा नै तीन महिना अघि बच्चा जन्माइन् ।
वर्षाको मौसम सुरु भएसँगै लामखुट्टे र सर्पबाट बच्चा र आफ्नो ज्यान जोगाउन उनलाई यतिबेला हम्मेहम्मे नै भएको छ । सुत्केरी अवस्थामा त्रिपालमा बस्नुपर्ने बाध्यताले गर्दा उनलाई काखमा रहेको सन्तान कसरी हुर्काउने भन्ने चिन्ताले पिरोलेको छ । सुत्केरी भएको अवस्थामा पोषिलो खानेकुरा खान नपाएको बताउँदै उनले भनिन्, ‘त्रिपालमा रात काट्नु परेको छ, विहान बेलुकी खानलाई त केही छैन, अब पोषिलो खाने कुरा कहाँबाट पाउनु ? उनले त्रिपालमा बस्दाको पीडा सहन नसकेर आँखाबाट आँसु बगाउँदै थपिन्, ‘शरिर कमजोर भयो, काम गर्न सक्ने अवस्था छैन । अहिले त राहत नपाएको पनि धेरै भयो, अब यो काखको बच्चालाई कसरी हुर्काउने निकै समस्या भएको छ ।’
सोही शिविरमा बस्दै आएकी आठ महिनाकी गर्भवती पवित्रा विष्टको पनि पीडा कम छैन । खाना र बस्नको ठेगान नभएकाले उनको शरिर कमजोर बन्दै गएको छ । वर्षात सुृरु भएपछि उनी रातको समयमा बेलाबेलामा बर्बबराउने र एक्लै टोलाउने गरेको छिमेकीहरु बताउँछन् । साटाखानी र गिरीघाट शिविरका महिलाहरु मात्र होइन, यतिवेला जिल्लाका सबै शिविरमा रहेका महिलाहरु कष्टकर जीवन जीउन बाध्य भएका छन् ।
वर्षातको समय भएकाले खुला स्थानमा सुत्ने अवस्था नभएपछि विस्थापितहरु सानो त्रिपालमुनी परिवारका सबै सदस्यहरु कोचिएर बस्नु पर्दाको पीडा महिलाहरुले नै बढी भोग्नु परिरहेको छ । सरकारले राहत दिन छोडेपछि अहिले शिविरमा बस्दै आएका सुत्केरी तथा गर्भवती महिलाहरु समेत गिट्टी कुटेर छाक टार्न बाध्य छन् । बाढीपहिरोले दिएको पीडा, लामो समयसम्म पनि पुनस्र्थापना नहुनु, शिविरमा खानाको समस्या र प्रायः पुरुषहरु रोजगारीका लागि मुग्लान पसेपछि त्रिपालमा रहेका परिवारका सदस्य र बालबालिकाको रेखदेख तथा पालनपोषण गर्ने जिम्मेवारी महिलाहरु एक्लैले निर्वाह गरिरहेका छन् । यसले गर्दा महिलाहरुमा मानसिक समस्या समेत देखिन थालेको छ ।
जिल्ला बाढीपीडित संघर्ष समितिका अध्यक्ष खगिराम रेग्मीले लामो समयसम्म शिविरमै बस्नु परेका कारण महिलाहरु बढी समस्यमा परेको बताए । उनका अनुसार महिलाहरु रातको समयमा बर्बराउने, एक्लै बसेर टोलाउने, निराश भएर रुने, आकासमा वादल लाग्ने वित्तिकै तर्सने र डराउने गर्दछन् । गर्भवती तथा सुत्केरी महिलाहरुलाई आराम तथा पोषिलो खानाको जरुरी भएपनि लामो समयसम्म पनि घरबासको व्यवस्था नहुँदा बाढीपीडित महिलाहरु भने भोकै बस्न बाध्य छन् । विस्थापित भएको एक वर्ष पुग्न लाग्दा समेत सरकार बाढीपीडितको पुनसर््थापनामा गम्भिर नहुँदा त्रिपालको बसाई महिलाहरुका लागि बढी कष्टकर भएको रेग्मीको भनाइ छ ।