Live Streaming

सेतीमा ‘आर्थोस्कोपी’ पद्दतीबाट उपचार सुरु


शिबराज भट्ट
धनगढी २८ असार : काठमाडौ पछि पहिलो पटक धनगढीको सेती अञ्चल अस्पतालमा ‘आर्थोस्कोपी’ अथवा दुरबीनबाट घुँडाको जोर्नीको सल्यक्रिया गर्ने प्रविधि सुरु गरिएको छ । सेती अञ्चल अस्पतालका हाडजोर्नी रोग विषेशज्ञ डाक्टर प्रमोद जोशीले आईतबार कैलालीको फुलबारी गाविसकी ४५वर्षीया जुगनी देवी चौधरीको घुँंडाको सल्यक्रिया गरी यो प्रविधिको सुरुवात गरेका हुन । स्वास्थ्य तथा जनसंङख्या मन्त्रालयले ७० लाख पर्ने उपकरणहरु सेती अञ्चल अस्पताललाई उपलव्ध गराएपछि सो प्रविधीबाट सल्यक्रिया सुरु गरिएको हो

। काठमाडौं पछि विराटनगर र धनगढीमा मन्त्रालयले यो उपकरणहरु सहयोग गरेको थियो । तर विराटनगरमा तालिम लिएका डाक्टरले छोडेपछि त्यहाँ भने यो उपचार बन्द भएको छ । ‘त्यसैले राजधानी पछि यो सेवा धनगढीमा मात्रै सुरु भएको हो’ डाक्टर प्रमोद जोशीले भने ।‘यो प्रविधिबाट चिरा नलगाएर बाथ रोगको उपचार गरिन्छ’ डाक्टर प्रमोद जोशीले भने । घुँडा दुखिरहने, चिसो मौसममा बाथ रोग भयो भनेर हिडडुल गर्न नसक्ने र घुटा नखुम्चीने जस्ता समस्याका बिरामीलाई यस प्रविधिबाट उपचार गरिने उनले बताए‘यसमा दुरबीनका लागि मात्रै घुँडामा सानो प्वाल बनाएर भीत्र के भएको छ भनेर हेर्न सकिन्छ, त्यसपछि त्यही अनुसार सल्यक्रिया गर्न सकिन्छ’ उनले भने ।‘यो एमआरआई भन्दा पनि अत्याधुनिक प्रविधि हो ।’ उनले एमआरआइले रोग पत्तामात्र लगाउने भएपनि यसले रोग पत्ता लगाउनुका साथै उपचार पनि गर्न सकिन्छ’ उनले भने । 


उनले घुँडा बाहेकका जोनीको उपचार पनि यही मेसिनले गर्न सकिने बताए । ‘तर सानो खालका दुरबीनहरु छैनन, अहिले घुँडाको मात्रै उपचार गर्न सकिन्छ’ डाक्टर जोशीले भने । ‘बाथ रोग भनेको घुँडाको जोर्नी भीत्र लेउ जस्तै भएर हड्डी खिईनु हो, त्यसको उपचार गरिएन भने भीत्र त्यो लेउ डल्लो जस्तो हुन्छ, अनी घुडा खुम्च्याउन समेत सकिदैन, अब त्यसको चिरा नलगाएरै सानो प्वाल पारेर उपचार गरिन्छ ।’ डाक्टर जोशीले भने ।डाक्टर जोशी सहितका चिकित्सकहरुको टोलीले आइतबार सेती अञ्चल अस्पतालमा पत्रकारहरुलाई सल्यक्रिया कक्षमै लगेर, यो प्रविधिका बारेमा जानकारी गराएको थियो । पहिलोपटक यो प्रविधिबाट सल्यक्रिया गरिएकी कैलालीको फुलवारीकी ४५ वर्षीया जुगुनी चौधरीले पनि आफ्नो निशुल्क सफल सल्यक्रिया भएकाले खुसी ब्यक्त गरेकी छिन । ‘बाथ रोगले धेरै सताएको थियो, धेरै खर्च पनि गरे निको भएको थिएन, तर अब निको हुने आशा पलाएको छ’ पत्रकार सामु उनले भनिन ।यो सल्यक्रियाका लागि कम्बरमुनीको भाग मात्रै सुन्य गरिन्छ । विरामीले आफ्नो अगाडि लगाएको ‘स्क्रीन’ मा आफ्नो उपचार हेर्न सकछ । जोगनीले पनि आफ्नो उपचार ‘स्क्रीन’मा हेरेर जिज्ञासा समेत राखेकी थिईन ।डाक्टर जोशीले आफ्नै खर्चमा ‘आर्थोस्कोपी’ को तालिम लिएका हुन ।

 

उनले महिनामा घुँडाको जोर्नीका झण्डै ४० देखि ५० जना सम्मलाई अन्त रेफर गर्नुपरेकोमा अब उनीहरुले सेतीमै उपचार पाउने बताए । यो उपकरणमा अरु झण्डै २० लाख जति खर्च गरेर अरु उपकरणहरु एसेम्बल ग¥यो भने पाठेघरको सल्यक्रिया, पत्थरीको सल्यक्रिया पनि यही उपकरणबाट गर्ने सकिने सेती अञ्चल अस्पतालका मेसु डाक्टर गणेश बहादुर सिहले बताए । उनले अस्पतालको आर्थिक अवस्था सुधार हुने वित्तिकै यही मेसिन प्रयोग गरेर अरु सल्यक्रियाका लागि पनि उपकरणहरु थप गरिने बताए विग्रीएको भागलाई सानो प्वाल मार्फत सल्यक्रिया गरिने भएकाले रगत वग्ने सम्भावना पनि कम हुने चिकित्सकहरुले बताएका छन ।