Live Streaming

पेट्रोल बोकेको ट्यांकर भारतीय लुटेराको कब्जामा

भानुभक्त आचार्य
हेटौंडा,२७ असार । भारतको बिहार राज्यमा रहेको बरौनीस्थित भारतीय आयल निगमबाट पेट्रोलियमपदार्थ ढुवानी गरेर ल्याउँंदै गरेको टयांकर भारतीय लुटेराको कब्जामा छ । गत बिहीबार राति १ बजे बिहारको पिप्राकोटीस्थित एचएन २८ हाईवेबाट ना३ख ८६३७ नम्बरको ट्यांकर नेपाल आयल निगमको अमलेखगंजस्थित डिपोमा पेट्रोलियमपदार्थ भरेर ल्याउँंदै गर्दा राजमार्गमा भारतीय लुटेराहरुले रोकेर चालक आले भनिने बुद्धिबहादुर लामा र सहचालक बिक्रम लामालाई हात बाँधेर साथमा भएको नगद एक हजार ५ सय रुपैयाँ, मोवाईल लुटेको चालक लामाले बताए ।

ट्यांकर लुटराहरुले लुटेपछि मध्यमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष दीपक शिबाकोटी र ट्यांकर मजदुर युनियनका अध्यक्ष रबि गुरुङसहित १३ जनाको टोली शुक्रबार बिहार गएको थियो । अपराधीहरले ट्यांकरमा भएको पेट्रोल बिक्रीका लागि पेट्रोल पम्पमा लैजादै गरेको अवस्थामा फेला पारेपछि अपहरणकारीसँग आफूहरुको दोहोरो झडप भएको संघका अध्यक्ष शिबाकोटीले बताए । ट्यांकर फेला पारेपछि स्थानीय प्रहरीचौकीलाई जिम्मा लगाएको शिवाकोटीले बताए । 

करिब २० लाख रुपैयाँको पेट्रोल अपराधीको कब्जामा थियो । अपहरणकारीमध्य भारतीय नागरिक ओमप्रकाश पाण्डेले ट्यांकर चलाएको र मुख्य योजनाकार नीरज शुक्ला सहित पप्पु भनिने पेट्रोल पम्पका म्यानेजर र अर्का एक भारतीय नागरिक अपहरणको घटनामा पक्राउ परेको अध्यक्ष शिवाकोटीले बताए । अपहरणकारीले राजमार्ग बिग्रेको स्थानमा बोलेरो तेस्र्याएर ट्यांकर कब्जामा लिएको ट्यांकरका चालक लामाले संचारकर्मीलाई जानकारी दिए।
 
दुर्घटना भएको अवस्थामा र चोरी भएको अवस्थामा बीमा कम्पनीले भुक्तानी गर्छ तर अपहरणको केसमा बीमाले पनि भुक्तानी नदिने भएपछि ट्यांकर संचालकहरु आन्दोलनको मनस्थितिमा पुगेका छन् । सुरक्षाको ग्यारेन्टी नभएसम्म बिहारको बरौनी डिपोबाट पेट्रोलियम ढुवानी नगर्ने संघले आईतबारको बैठकमा निर्णय गरेको अध्यक्ष शिबाकोटीले बताएका छन् । रक्सौलबा अमलेखगंज वा काठमाडौं ढुवानी गरिरहेका नेपाली ट्यांकरहरु २०६५ सालदेखि बिहारको बरौनी डिपोबाट पेट्रोलियम ढुवानी गर्दै आएका थिए । 

जोखिम बढेको भन्दै नेपाल आयल निगमले अपहरणको घटनामा पनि बीमा दाबी दिने व्यवस्था नभएसम्म बरौनी जाने सबै ट्यांकर घरमै राख्ने संघका अध्यक्ष शिवाकोटीले बताए । सुरक्षाको प्रबन्ध मिलाउने व्यवस्थ ागर्न स्थानीय प्रशासनमार्फत् भारतीय दूताबासलाई आईतबार ज्ञापनपत्र बुझाएको अध्यक्ष शिवाकोटीले बताए । बिहारमा गत वर्ष यसैगरी ट्यांकर अपहरण गरी ट्यांकरका सहचालकको हत्या भएको थियो । बिगतमा पटकपटक ट्यांकर अपहरण गरी पेट्रोलियम पदार्थ बिक्री गर्ने र ट्यांकर जंगलमा छोड्ने घटना भएको अध्यक्ष शिवाकोटीले बताए ।