अब कुनै पनि बहानामा संविधान रोकिन्न : ओली
काठमाडौं,२७ असार । एमाले अध्यक्ष केपी ओलीले अब कुनैपनि बहानामा संविधान निर्माण नरोकिने बताउनुभएको छ । नेपालस्थित भारतीय राजदूत रन्जित रे सँगको भेटमा अध्यक्ष ओलीले छिट्टै संविधान जारी हुने बताउनुभएको हो ।अध्यक्ष ओलीलाई भेट्न आज भारतीय राजदूत रे एमाले संसदीय दलको कार्यालय सिंहदरबार पुग्नुभएको थियो । भारतीय राजदूत मंगलबार भारत जान लागेकोले संविधान निर्माण तथा राजनीतिक घटनाक्रमबारे मुख्य दलका नेताहरुसँग भेटघाट थालेका हुन । नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र संविधान निर्माणबारे ब्रिफिङ लिन र नेपाली नेताहरुको भारत भ्रमण व्यवस्थापन तथा समन्वयका लागि राजदूत रायलाई भारत सरकारले दिल्ली बोलाएको हो । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल , कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवालगायतका नेताहरु केहि दिनमै भारत भ्रमणमा जादैहुनुहुन्छ ।