किन बुझायो ‘मंगोलिय सेना’ ले हतियार ?
खेम बुढामगर
रोल्पा, २७ असार ‘जय मंगोल !’ भन्दै हतियार उचालेका तीन युवा जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको कार्यकक्ष प्रवेश गरे । सुरक्षा अधिकारी र पत्रकारले भरिएको कार्यकक्षमा एकछिन सन्नाता र आश्चर्या व्याप्त भयो ।
पूर्वी रोल्पाको फुलिवन हुँदै सुलिचौर आएर उनीहरु सदरमुकाम लिबाङ प्रशानसमा आएका हुन । मोटरसाईकलमा आएका उनीहरुले भरुवा बन्दुक, ग्रिनेटहरु खुला रुपमा नै बोकेका थिए । उनीहरु आउने बाटोमा प्रहरी चोकपोष्ट पनि थिए । तर, उनीहरुलाई प्रहरीले रोकेन । हतियार बुझाउन आउँंदै गरेकाले कही कतै सोधपुछ नगर्ने व्यवस्था सुरक्षा अधिकारीले मिलाएका थिए ।
पार्टीको झण्डा मोटरसाईकलमा फराउँंदै आएका थिए उनीहरु । पार्टीअन्तर्गत ‘मंगोलियन मुक्ति सेना’ विभागका सहकमान्डर बताउने लालमन घर्तिमगरको नेतृत्वमा आएको टोलीले पत्रकार, नागरिक समाज, शान्ति समिति, सुरक्षा निकायका प्रमुख, देवीदत्त गणका गणपती विनोद चन्द, जिल्ला प्रहरी प्रमुख रमेश थापा, अनुसन्धानका प्रमुख नविन गिरीको उपस्थितिमा हतियार वुझाएको थियो । सरकारी वार्ता समितिले हतियार बुझाउन आउँंदै गरेको सूचना प्रमुख जिल्ला अधिकारीलाई दिएको थियो । हतियार बुझाउने सहमति २०७१ असोज ७ गते भएको थियो ।
प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार उनीहरुले भरुवा वन्दुक २ थान, ३६ हाते ग्रिनेट १ वटा, बाह्रबोरको गोली ६ थान, थ्रिनटथ्रिको गोली ५ थान, सुटली वम ४ वटा, पेट्रोल बम ३ वोटल वुझाएका हुन । सहकमान्डर लालमनले आफु बार्ता टोलीको सहसंयोजक समेत रहेको बताए । गाम–८ का २२ वर्षीय लालमनले वार्ता टोलीका संयोजक टुकमान पुनमगर विरामी भएकाले हतियार वुझाउन नआएको वताए । उनीसँगै गाम–३ का २२ वर्षीय दिपक घर्तीमगर र हार्जङ–६ रोल्पाका २३ वर्षीय दिउराज पुन आएका थिए ।
संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति अन्तरगत प्रारम्भिक वार्ता उपसमिति र मंगोलियन पार्टीबीचको वार्ता सहमतिले हतियार वुझाएको वताईएको छ । सरकारी उपसमितिका तर्पmबाट सहमतिमा आनन्द प्रसाद ढुंगानाले हस्ताक्षर गरेको कागज उनीहरुले देखाएका थिए ।
२०६१ सालमा गठन गरिएको भनिएको ‘पार्टी’ सशस्त्र रुपमा रोल्पा, रुकुम, प्यूठान, वाग्लुङ र रामेछापमा भूमिगत रुपमा क्रियाशिल रहेको उनीहरुले दावी गरे । यि पाँच जिल्लामा करिव २ हजार पाँच सय लडाकु र कार्यकर्ता रहेको वताए । उनीहरुले बाह्रबोर, थ्रिनटथ्रीमा प्रयोग हुने गोली वुझाए पनि ति हतियार भने वुझाएनन् । पत्रकारको जिज्ञासामा लालमनले भने, ‘पार्टीका इन्चार्ज टेकबीरलाई २०६६ सालमा हत्या गर्ने वेला सबै हतियार प्रहरीले ल्याईसकेको छ ।’
शान्ति प्रक्रियासँगै पूर्वी रोल्पामा क्रियाशिल रहेकै वेला अर्थात पहिलो संविधान सभाको पूर्वसन्ध्यामा रोल्पामा २ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो भने प्यूठान जिल्लाको सेउलीबाङ प्रहरी चौकी समेत आक्रमण भएको थियो । यही समूहले हत्या र आक्रमण गरी हतियार लगेको प्रहरीको दावी थियो । वार्ता उपसमितिका सहसंयोजक लालमनले हतियार वुझाउने क्रममा आफ्ना पार्टीका इन्चार्जलाई वार्ताको प्रलोभन देखाएर हत्या गरेको दावी गरे । ‘सरकारका सुरक्षा अंग नभनौ, बार्ता गर्ने भन्दै वोलाएर कुनै पार्टीका मान्छेबाट गोली हानियो । घाइते भएको अवस्थामा गामको विवाङमा राखिएको हतियार देखाएपछि छोडिदिने भन्दै हतियार देखाउन लगाएर पछि हत्या गर्ने काम भयो ।’ मुंग्रोले हिर्काएर र पछि गोली हानेर २०६६ बैशाख १२ गते टेकबीर बुढाको हत्या भएको वताए । गाम घटनाको रहस्य विस्तारै पर्दाफास हुदै जाने तर्पm समेत संकेट गरे ।
देशमा मंगोल संख्या वहुमतमा रहे पनि राज्य सत्तामा उनीहरुको सहभागिता नभएको र उनीहरुलाई दासको रुपमा व्यवहार गरिएकाले आफुहरुले क्रान्ति सुरु गरेको वताए । सशस्त्र क्रान्ति भन्दा शान्तिपूर्ण क्रान्तिबाट मुद्दा स्थापित गर्न आवश्य ठान्दै हतियार वुझाएको उनीहरुले वताए । ‘निर्वाचन आयोगमा पार्टी विधिवत रुपमा दर्ता गरेर शान्तिपूर्ण रुपमा खुला राजनीति गछौं अव ।’ लालमनले भने ।