प्रेममा फसेर घर छोड्ने किशोरीको संख्या बढ्दो
मनिका झा
जनकपुरधाम, २७ असार । धनुषामा प्रेममा परि घर छाडेर भाग्ने किशोरीहरुको संख्या बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय धनुषालाई यस्ता मुद्दा मिलाउन भ्याइ न भ्याइ हुने गरेको छ ।
विद्यालयमा पढ्ने ११ देखि १७ वर्ष उमेर समुहका बालबालिकाहरु प्रेममा परेर घरबाट भाग्ने र त्यसपछि छोरी पक्षले आफ्नी छोरीलाई अपहरण गरिएको हो भनि मुद्दा हाल्न आउने क्रम बढेपछि प्रहरीलाई यस्तै मुद्दा मिलाउन बढि समय लाग्ने गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी कृष्ण प्रसाईले बताए ।
असार महिनामा मात्रै उमेर नपुगी भागेर विवाह गरेका सात जोडीलाई पक्राउ गरेर अविभावकको जिम्मा लागाएको जिल्ला प्रहरी कार्यालयअन्तर्गत रहेको महिला तथा बालबालिका सेलले जानकारी गराएको छ । गएको श्रावणदेखि हालसम्म ६० जना किशोरीहरु घरबाट भागेर प्रेम विवाह गरेको र उनीहरुलाई पछि समातेर अभिभावकको जिम्मा लगाइएको प्रहरी सहायक निरीक्षक मिथिला थापाले बताइन् ।
केटा वा केटी पक्षले दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरि अभिभावकको जिम्मा लगाउने गरिएको थापाले बताइन् । यस्ता घटनाहरुमा केटाकेटीहरु घरबाट भागेपछि शारीरिक सम्बन्ध समेत राख्ने गरेको पाइएको छ । छोरीहरुलाई कम उमेरमा गर्भ बोक्नुपर्ने समस्या देखिएकाले छोरी पक्षले अपहरण मुद्दा हालेर बढीभन्दा बढी कारबाही होस् भनेर मुद्धा दर्ता गर्ने गरेको तर, प्रहरीले मुद्दाको प्रकृति हेरेर मात्र दर्ता गर्ने गरेको डिएसपी प्रसाईले बताए । यस्ता मुद्दाहरुमा किशोरीहरुलाई समातेर ल्याएपछि उनीहरु आफू मर्न समेत तयार रहेको तर अभिभावकसँंंग नजाने भनि जिद्दि गर्ने गरेकाले सधैंजसो जिप्रकामा तमासा नै लाग्ने गरेको महिला सेल प्रमुख विश्वनाथ महतोले बताए ।
कानुनमा उल्लेख भएअनुसार महिलाको विवाह गर्ने उमेर अभिभावकको मंजुरीमा १८ वर्ष तथा पुरुषको २१ वर्ष निर्धारण गरिए पनि उमेरनै नपुगि भाग्ने जोडीहरुका कारण बालविवाहको क्रम समेत बढेको अधिकारकर्मी उर्मिला यादवले बताइन् । घरबाट भागेका किशोरीहरुलाई अभिभावकले खोजी गरिदिन प्रहरीलाई उजुरी दिने गरेको भएपनि उनीहरु पक्राउ परेर आएपछि पनि राम्ररी घरमा बस्न मानेपछि अधिकांशको बिहेनै गर्ने गरिएको यादवले बताए।