Live Streaming

दुर्घटनामा युवा संघ नेताको निधन

विराटनगर, २५ असार । मोरङको डाँगीहाट ५ स्थित पूर्व–पश्चिम राजमार्गमा दुई जना सवार मोटरसाइकल दुर्घटना हुँदा युवा संघ नेपालका नेता विनाद खड्काको निधन भएको छ । पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को १४ प ६२८८ नम्बरको मोटरसाइकल दुर्घटनामा परेर गयराति युवा संघका कोसी अञ्चल सचिवालय सदस्य सुनसरीको इनरुवा ३ का ४० वर्षीय खड्काको निधन भएको हो ।

युवा संघका कोसी अञ्चल अध्यक्ष रोहित कोइरालाका अनुसार खड्काले नै चलाएको मोटरसाइकल घुमाउरो बाटोमा आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । हिजो साँझ दुर्घटनामा परेर गम्भीर घाइते भएका खड्काको उपचारका क्रममा विराटनगर स्थित न्युरो अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।

खड्का युवा संघका सुनसरी इन्चार्ज र नेकपा एमाले सुनसरी क्षेत्र नम्बर ४ का सचिवालय सदस्य समेत हुनुहुन्थ्यो । उहाँको आज सुनसरी खोलामा अन्त्येष्टी गरिएको छ । मोटरसाइकलको पछाडि बसेका युवा संघका अर्का अञ्चल स्तरिय नेता २८ वर्षीय निरज ढकाल घाइते हुनु भएको छ ।

मोरङको कोसी–हरैंचा ९ का ढकालको न्युरो अस्पतालमा उपचार भएको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । ढकाल संघका कोसी अञ्चलको सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख हुनुहुन्छ । दुर्घटनामा परेको मोटरसाइकल नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक दुर्गा दाहालले बताउनु भयो ।