Live Streaming

रेलबाट हाम फालेका साथी बचाउन खोज्दा आफ्नै ज्यान गयो

शिबराज भट्ट

धनगढी, २५ असार । भारतको बेंगलोरमा गुडीरहेको रेलबाट हाम फालेका साथीको खोजी गर्न झरेका दार्चुलाका तीन जनालाई रेलले किचेको छ । तीनै जनाको घटनास्थलमै ज्यान गएको आफन्तहरुले पुष्टि गरेका छन ।

कामका लागि भारतको बेंगलोर गएका दार्चुलाको अपी नगरपालीकाका वडा नंं ४ कोट भन्ने स्थानका ५९ वर्षीय देवदत्त भट्ट, सोही गाविसको वडा नम्वर ५ कोटकौतलीका ३५ वर्षका किशनसिह कुवर र सोही ठाउका २५ वर्षीय लालसिह कुवरको भारतको महाराष्ट्र राज्यको जलापुर भन्ने स्थानमा मंगलबार विहान ४ बजे रेलले किच्दा मृत्यु भएको मृतक किसनका दाजु कम्मान सिह कुवरले जानकारी दिनुभयो ।

सँगै गएका अपी नगपालीका ७ काटैका मन्या लोथ्यालले गुडिरहेको रेलबाट मंगलबार विहान ४ बजेतिर, महाराष्ट्रको जलापुर भन्ने स्थानमा हाम फालेका थिए । साथीले हाम फालेको खबर रेलका टिटिलाई गराएपछि ८ किलोमिटर टाढा गएर रेल रोकिएको थियो । तीनै जना, हाम फालेका साथीलाई खोज्न विहान ४ बजेको मिर्मिरेमा रेलबाट झरेर खोजीमा निस्किएका थिए । रेलको पटरी भएर हिडिरहेका तीनै जनालाई विपरित दिशाबाट आएको रेलले किचेको बेंगलोर प्रहरीले खबर गरेको कम्मानले बताउनुभयो ।

बेंगलोर प्रहरीको फोन आएपछि, त्यहाँ रहेका गाउलेले तीनै जनाको शवको पहिचान गरी, विहीबार भारतकै जलापुर जंगलमा अन्तेष्टि पनि गरेको कम्मानले जानकारी दिनुभयो । रेलबाट हाम फालेका लोथयाल भने गम्भिर घाईते भएका छन । उनको जलापुरको अस्पतालमा उपचार भईरहेको महाराष्ट्रमा रहेका मृतक किसनसिह कुवरका आफन्त कैलाश कुवरले जानकारी दिएको कम्मानले बताउनुभयो । बेग्लोरमा संगै काम गर्ने कैलाशलाई महाराष्ट्र प्रहरीले फोन गरेपछि घटना बारे घरमा थाहा भएको कम्मानले जानकारी दिएका छन् ।