विजयपुर हस्पिटलमा शल्यक्रिया सुरु
धरान,२५ असार । स्थापनाको एक वर्षमै धरानको विजयपुर अस्पतालले शल्यक्रिया सेवा सुचारु गरेको छ । १८ करोडको लगानीमा संचालनमा आएको अस्पतालले विशेष चिकित्सकसहितको शल्यक्रिया सेवा सुचारु गरेपछि बिरामीहरुलाई राहत पुगेको छ ।
११ जना विशेषज्ञ चिकित्सकहरु कार्यरत रहेको विजयपुर हस्पिटलले मेजर शल्यक्रिया सुचारु गरेको छ । हाडजोर्नी, स्त्री तथा प्रसुति, जनरल सर्जरीका बिरामीको शल्यक्रिया सुचारु गरेको विजयपुर हस्पिटलका निर्देशक प्रभाव खतिवडाले जानकारी दिए ।
एक सय शैया क्षमताको विजयपुर अस्पतालमा बाला रोग, छाला तथा यौन रोग, स्त्री तथा प्रसूती रोग, हाडजोर्नी तथा नसा रोग, मेडिसिन, जनरल सर्जरी, नाक कान घाँटी, न्युरो फिजिसियन, मानसिक तथा नसा रोकको उपचार सेवा संचालन गरिएको निर्देशक खतिवडाले बताउनुभयो । बिहीबार मात्र ६ जना बिरामीको शल्यक्रिया गरिएको अस्पतालको सर्जरी विभाग प्रमुख डा रोशन खतिवडाले बताए ।