सम्पूर्ण क्षेत्र र समुदायको जायज माग मस्यौदामा समेट्न राष्ट्रपतिको सुझाउ
काठमाडौं,२५ असार । राष्ट्रपति रामवरण यादवले संविधान निर्माण प्रक्रियाबारे चारदलका शीर्ष नेतासँग जानकारी लिनुभएको छ । आज बिहान करिब २ घण्टा भएको छलफलमा राष्ट्रपति यादवले भावी संविधानको मस्यौदामा जनताको रायसुझाव संकलन प्रक्रिया, संविधान निर्माणमा देखिएको विरोधलगायत विषयमा चासो राख्नु भएको हो ।
राष्ट्रपति यादवले सुझाव संकलनका क्रममा सम्पूर्ण क्षेत्र र समुदायको जायज माग मस्यौदामा समेट्न शीर्ष नेताहरुलाई सुझाव दिनुभएको शितल निवास स्रोतले जनाएको छ । बिरोधमा रहेका दलहरुलाई समेत समेटेर संविधान निर्माण गर्न सुझाउदै उहाँले सीमाङ्कन र नामाङ्कनको विषय समेत अहिले नै टुङ्गो लगाएर अगाडि बढ्न आग्रह गर्नूभयो ।
प्रधानमन्त्री सुशील कोईराला, एमाले अध्यक्ष केपी ओली, एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार राष्ट्रपति यादवलाई भेटन शितल निवास पुग्नु भएको थियो । भेटमा सवै दलका शीर्ष नेताले सम्पूर्ण क्षेत्र र समुदायलाई मान्य हुने गरी संविधान बन्नेमा ढुक्क हुन राष्ट्रपति यादवलाई आग्रह गरेका थिए ।