पर्वतमा ४० प्रतिशत रोपाई सकियो
माया अधिकारी
पर्वत,२५ असार। असारको अन्तिम साातासम्म पर्वत जिल्लामा ४० प्रतिशत मात्र रोपाई भएको छ । पछिल्ला केहि दिन यता मनसुन सक्रिय बनेकाकाले किसानलाई रोपाई गर्न भ्याइनभ्याइ भएको छ । अझै पनि मुल फुट्नेगरी वर्षा नपरेकाले रोपाईमा ढिलो भएको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ । धान रोप्न योग्य खेतमध्ये २६ प्रतिशत खेतमा मकैखेती लगाइएको छ भने बाँकी खेत खाली भएपनि पर्याप्त सिंचाईको सुविधा नभएकाले रोपाई ढिलो भएको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ । अझै ६० प्रतिशत खेतमा रोपाई गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।
बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीका अनुसार खाली रहेको खेत लगभग सकिन थालेको छ । यतिबेला जिल्लाका सबैजसो क्षेत्रमा रोपाई सुरु भइसकेको छ । फलेवास, पाङ, कटुवाचौपारीलगायतका मकै लगाइएका खेतमा रोपाई केही ढिलोगरी सुरु हुने भएपनि अन्य क्षेत्रका कृषहरुले भने धमाधम रोपाई गरिरहेको रेग्मीले बताए । पर्वत जिल्लामा धान फल्ने ९ हजार २१ हेक्टर जमिन रहेको त्यस मध्ये ३ हजार ६ सय हेक्टर भन्दा बढिमा रोपाई भइसकेको छ । बाहैमास सिंचाई हुने खेतमा रोपाईका लागि समस्या नभएपनि अन्य ठाउँका कृषक भने वर्षा प्रभावकारी भएपछि मात्र रोप्न सुुरु गरेका छन् ।
सबैभन्दा बढी धान उत्पादन हुने देविस्थानमा २ सय ४३ हेक्टर क्षेत्रफल र कम उत्पादन हुने बनौँमा ४ हेक्टर क्षेत्रफल रहेको छ । अहिले पर्वतमा छेमरोङ, खुमलटार, गौरीया, गुडुरा, मार्सी, पहेले, जर्नेलीलगायत जातका धान रोपिएको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ । गत वर्ष पनि मनसुन ढिला भएका कारण साउनको अत्यमा मात्र रोपाइ सकिएको थियो । तर पछि मनसुन सक्रिय भएकाले उत्पादनमा कुनै असर नपरेको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।