Live Streaming

रसुवामा एकसय ६ मानिस अझै वेपत्ता

काठमाडौं,२४ असार । भुकम्पपछि आएको हिमपहिरोले रसुवाको लाङटाङ गाविस वडा नं. ५, ६ र ७ मा फैलिएको लाङटाङ उपत्यकामा हराएका मध्ये १ सय ६ जनाको अवस्था अझै अज्ञात छ । पहिरोमा परी बेपत्ता भएका एक सय ९२ जनाको शव भेटिएपनि अन्यको अवस्था भने अज्ञात रहेको हो ।

सो स्थानमा अझै स्थानीय २७, विदेशी २० र स्वदेशी ५९ जना हराइरहेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी गौतम रिमालले वताउनुभयो । महाभुकम्पपछि १८ गाविस रहेको रसुवाको लाङटाङ, टिमुरे, हाकुमा गरि एकसय २६ जना हराइरहेका छन् । सेनाको उच्च स्तरिय टोलीले पैदल तथा हेलिकप्टरमार्फत खोजी कार्यलाई अगाडि वढाएकोमा तीन साता अगाडि हिमपहिरो खसेर सेना नै घाइते भएपछि हराएकाको खोजी कार्य स्थगित गरिएको सहायक प्रजिअ रिमालले जानकारी दिनुभयो ।

साढे दुई महिना वित्न लागेका कारण सवैको मृत्यु भइसकेको अनुमान गरिएको छ । लाङटाङमा १० जना नेपाली सेना पनि हराइरहेका छन् । महाभुकम्पपछि लाङटाङमा रहेको सेनाको पोष्ट नै पुरेको छ ।