Live Streaming

​विकास निर्माणका काममा अख्तियारको छानविन सुरु

सुनसरी,२४ असार । विकास निर्माणका काममा भ्रष्टचार भएको जनगुनासो बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयले पूर्वाञ्चलका विभिन्न जिल्लामा भएका विकास निर्माणका कामको छानविन थालेको छ । आर्थिक बर्ष २०७१÷७२ सकिनै लाग्दा सरकारी कार्यालयहरुले विकास निर्माणका काममा झारो टार्ने र विकास निर्माणको काम पारदर्शी नभएको भन्दै अख्तियारले छानविन थालेको हो ।

अख्तियारको पूर्वाञ्चल क्षेत्रीय कार्यालयले सुनसरी, मोरङ, झापा, धनकुटा, ताप्लेजुङ, पाचथर र इलाममा अनुसन्धानका लागि टोली खटाएको छ ।  सुनसरीमा अख्तियारका एसपी लालमणि आचार्य, मोरङमा उपसचिव सागर मिश्र, झापामा डिएसपी गोविन्द अधिकारी, धनकुटामा डिएसपी बलबहादुर बोगटी, ताप्लेजुङ, पाचथर र इलाममा शाखाअधिकृत गणेश राई र इन्जिनियर राकेश रोशनको नेतृत्वको टोली परिचालन भएको अख्तियार पूर्वाञ्चल क्षेत्रिय प्रमुख डुल्लुराज बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार  अख्तियारको टोलीले जिल्लाविकास समिति, जिल्ला कृषि विकास कार्यालय, शिक्षा कार्यालय, सडक डिभिजन कार्यालय, सिंचाइ कार्यालय लगायतका कार्यालयमा विकास निर्माणका सम्पूर्ण कामको छानविन गर्नेछ । टोलीले विकास निर्माण सम्बन्धि ठेक्काको सम्झौता, सम्झौता मिति, भुक्तानी रकम, फस्र्यौंटको अबस्थाका कागजपत्र हेरी अनियमितता भेटिए तत्काल कारवाही पक्रिया अगाडि बढाउने क्षेत्रियप्रमुख बस्नेतले बताउनुभयो ।

सडक, पुल, खानेपानी, सिंचाइलगायतका विकास निर्माणका काममा सम्झौत अनुसार समयमा काम सम्पन्न नगर्ने, सम्झौताअनुसार विकास निर्माण काम नसकिकन रकम भुक्तानि दिने, मापदण्ड अनुसार काम नगर्ने, आर्थिक बर्षको अन्त्यतिर रकम सक्नकालागि अनाबश्यक काम देखाएर सरकारी रकम दुरुपयोग गर्ने उजुरी परेपछी अख्तियारले पूर्वाञ्चलका १६ वटै जिल्लामा टोली परिचालन गरी छानविन थालेको हो ।