न्याय पालिकाबाट राजनीति हुँंदैन प्रधानन्याधिश श्रेष्ठ
काठमाडौं,२३ असार । नवनियुक्त प्रधानन्यायधीश कल्याण श्रेष्ठले न्यायपालिकाबाट राजनीति नहुने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । आज सार्वेच्च अदालतमा कार्यभार सम्हाल्दै प्रधानन्यायधीश श्रेष्ठले आफुहरु राजनिति नगर्ने बताउँंदै आफुहरु माथि पनि राजनीति नगर्न आग्रह गर्नुभयो ।
उहाले राज्यका तीन अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका बीच प्रतिस्पर्धा हुनु नहुने भन्दै न्यायपालिकाले राजनिती नगर्ने बताउनुभएको हो । प्रधानन्यायधीश श्रेष्ठले अहिलेको अवस्थामा न्यायपालिका पनि संक्रमणकालमा रहेको भन्दै न्यायिक पद्धति संचालन गर्न र आउने व्यवधान हटाउन आफूले सक्दो पहल गर्ने बताउनुभयो ।
उहाँले न्यायपालिकालाई थप गतिशील बनाउने , मुद्दाको सुनवाइ तथा व्यवस्थापनलाई छरितो र प्रभावकारी बनाउदै जाने बताउनुभयो । उहाँले रिक्त रहेका न्यायधीशको नियुक्तिका लागि तत्काल पहल गरेर न्यायपालिकालाई पूर्णता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । भ्रष्टाचारमा शून्य सहनशिलताको नीतिलाई कडाइका साथ लागु गर्ने श्रेष्ठको भनाई छ ।
यसअघि शितल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति रामबरण यादवले श्रेष्ठलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो । संवैधानिक परिषदको सिफारिसमा श्रेष्ठलाई राष्ट्रपति यादवले आजै बिहान प्रधानन्यायाधीशमा नियुक्त गर्नुभएको थियो ।