Live Streaming

​खहरेमा डुंगाको सहारा

तोयानाथ भट्टराई 
इलाम, २२ असार . इलामको दक्षिणी दानावारी र महमाईका स्थानीयबासीहरु पुल नहुँदा खहरे खोलामा डुुंगाको प्रयोग गर्न बाध्य भएका छन् । लामो प्रतिक्षा पछि पुल निर्माण सुरु भएपनि सम्पन्न नभएकाले उपभोक्ता जोखीम मोलेर डुंगा चढ्न बाध्य भएका हुन ।  महमाई र दानावारी बीचमा पर्ने माइखोलाको चण्डालघाटमा पुल नहुँदा वर्षायाममा यी क्षेत्रका  बासिन्दाले आवत जावत गर्न डुंगाको प्रयोग गर्न बाध्य हुनुपरेको हो । यो वर्ष छिटो पानी परेर बाढी आएपछि स्थानीयले थप कष्ट झेल्नु परेको छ  । 

झापाको विर्तामोडबाट दानावारी हुदै महमाई, बाँझो, इभाङलगायत गाविस जाने यात्रुलाई बढी समस्या छ । हिउँदयाममा बाँसको अस्थाई फड्के लगाएर पैदल यात्रु र मोटरवाइकसम्म तार्ने गरिए पनि अहिले खोलामा पानी बढेकाले डुंगाको सहारा लिनु परेको हो । स्थानीय शिक्षक हरी अधिकारीका अनुसार खहरेमा डुंगाबाट तार्न नसकिने मोटरसाईकलहरु जोखीम मोलेर खोलाबाटै तार्ने गरिएको छ । उनका अनुसार  स्थानीयवासी जोखिम मोलेर फड्के तर्नुभन्दा डुंगामा भाडा तिरेर खोला तर्न थालेका छन् । उनीहरुले एकपटक डुंगाको प्रयोग गरे वापत एकसय रुपैया तिर्ने गरेका छन् ।  
बर्खायाममा बर्षेनी समस्या खेप्नु यहाँका बासिन्दाको नियति नै बनेको छ । पक्की पुल नबनेसम्म सधैं समस्या झेल्नु पर्ने वाध्यता रहेको स्थानीय बिरवहादुर लिम्बुले बताए । त्यसक्षेत्रका स्थानियलाई यतिवेला डुंगा तर्दा मरिन्छ कि बाँचिन्छ, ज्यानको बाजी थापेर खोला तर्न बाध्य छन् । पुल नहुँदा दैनिक उपभोग्य सामाग्री ल्याउन लैजानसमेत स्थानीयले ठूलो कष्ट झेल्नु पर्ने अवस्था छ । तर अहिले माइखोलामा पक्की पुल निर्माणको कार्य भने भइरहेको जिविसले जनाएको छ ।  


यस क्षेत्रका बासिन्दालाई बिरामी हँुंदा सबैभन्दा धेरै कष्ट हुने गरेको छ । झापाको सताशीधामबाट गैडे हँुंदै चुरे क्षेत्रबाट सडक निर्माण गरिए पनि संवेदनसिल भू–वनोटका कारण यो सडकमा सवारी साधन चल्न सकेका छैनन् । सवारी साधन नचलेपछी दैनिक उपभोग्य सामाग्री खरीद र आफुले उत्पादन गरेका सामाग्री बजार सम्म प¥याउन समेत समस्या भएको स्थानीयको भनाई छ ।