Live Streaming

नर्सहरुको भरमा अञ्चल अस्पताल

मनिका झा 
जनकपुरधाम, २२ असार । समयमै चिकित्सकले जाँंंच नगरेका कारण शनिबार राति धनुषाको ठाडी झिझा १ निवासी सतिश मिश्रले आफ्नो भर्खर जन्माएको छोरा गुमाए । जनकपुर अंचल अस्पतालमा शनिबार दिउंँसो जन्मिएका शिशु जन्मिदा एकदमै स्वस्थ रहेका थिए । राति श्वास फेर्न गाहे भएपछि मिश्रले बच्चाको उपचार गरिदिन र उनलाई हेरिदिन पटक पटक चिकित्सकहरुलाई गुहारे । तर, समयमा चिकित्सकले नवजात शिशुलाई नहेरेकै कारण उनको मृत्यु भएको मिश्रले आरोप लगाए ।

राम्ररी हेर्न समेत नभ्याएको छोरा गुमाउँंंदा मिश्रकी श्रीमती अंजु होसमा आउन सकेकी छैनन् । सो दिन राउण्डमा रहेका बालरोग विशेषज्ञ सूर्यनारायण यादवले आफूले बच्चालाई हेरेको र उसको स्वास्थ अवस्था ठिक नभएको जानकारी परिवारजनलाई गराइसकेको भएपनि बच्चालाई थप उपचारको लागि बाहिर लग्नुपर्छ भनेर भन्न नसक्दा उसको मृत्यु भएको स्वीकार गरे । धेरै बिरामीको चापका कारण आफुले राम्ररी बिरामीका आफन्त परामर्श दिन नसकेको यादवको भनाइ छ । तर, यस्तै विभिन्न प्रकारका बहानाहरु र चिकित्सकहरुको लापरवाहीका कारण  जनकपुर अंचल अस्पतालमा दिन प्रति दिन यस्ता घटना दोहोरिने क्रम जारी रहेको बिरामीले आरोप लगाएका छन् ।


नेपालसहित भारतको विहार राज्यको विभिन्न जिल्लाहरुबाट समेत बिरामी उपचारका लागि जनकपुर अंचल अस्पताल आउने गरेपनि अस्पताल भने सिकारु नर्सहरुको भरमा चल्ने गरेको छ । रातिको समयमा त नर्सहरु ड्युटी छोेडेर निदाउन थालेपछि बिरामीको अवस्था बिग्रिदै गर्दा पनि कसैले वास्ता नगर्ने हुनाले कतिपय बिरामीको ज्यान समेत जाने गरेको छ । अस्पतालमा चिकित्सकहरुले समयमा ड्युटी नगर्ने, राउन्डमा जांदा समेत बिरामीलाई राम्ररी नजाच्ने र बिरामी वा कुरुवाले रोगको विषयमा राम्ररी बुझ्न खोज्दा झर्केर बोल्ने गरेको अस्पतालमा आफ्नो बिरामी जचाउन आएका कुरुवा प्रशान्त झाले बताए ।

सिकारु नर्सहरुले सके जति बिरामी स्यहार गरेपनि चिकित्सक अभावको कारण बिरामीहरुको ज्यान सधैं जोखिममा रहने गरेको छ । अस्पतालमा हाल विभिन्न सेवामा ३५ जना चिकित्सकहरु कार्यरत रहेको र २४ घण्टे ड्युटीका लागि करिब २० जना विभिन्न रोगका चिकित्सकहरुको अभाव रहेको कारण अन कल डाक्टर बोलाउनु पर्ने बाध्यता रहेको र त्यसमा पनि चिकित्सकहरुले निजि क्लिनीकहरुमा बढि समय बिताउने गरेकोेले बिरामी जांचमा समस्या उत्पन्न भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट संजय ठाकुरले बताएका छन् । डाक्टरहरुलाई आफ्नो जिम्मेवारी राम्ररी वहन गर्न पटक पटक निर्देशन दिने गरेपनि उनीहरुले आफुलाई समेत नटेरेको र कसैलाई स्पष्टीकरण सोध्दा उल्टै धम्की दिने र विभाग भित्रैबाट उच्च पदाधिकारीहरुसंँंग दवाव दिलाउने गरेकोले आफुले चाहेर पनि अस्पतालमा सुधार गर्न नसकेको मेसु ठाकुरले  बताए ।