एकै जनाको भरमा नेचुङ भन्सार कार्यालय
गोपाल छन्त्याल
म्याग्दी, २२ असार। जीर्ण भवन । शौचालय र वाथरुम छैन । झ्याल र ढोकाहरु कुहिएका छन् । न सञ्चार सुविधा नत अन्य सहयोगी कर्मचारीहरु नै । यस्तै समस्या र पीडाका बीचमा छन्, नेचुङ भन्सार कार्यालय छोसेरका कार्यालय प्रमुख नायब सुब्बा धर्मराज सुवेदी ।
२१ वर्षपछि असारको पहिलो सातादेखि मुस्ताङको कोरला नाकाबाट हुने कारोबारलाई व्यवस्थित बनाउन सञ्चालनमा आएको भन्सार कार्यालयमा भौतिक पूर्वाधार र जनशक्तिको अभावले कार्यसम्पादन प्रभावकारी बन्न सकेको छैन । कार्यालय सहयोगी सहित ४ जनाको दरबन्दी भएपनि अहिलेसम्म दरबन्दी पूर्ति हुन नसकेको प्रमुख सुवेदीको भनाई छ । कार्यालय सहयोगी स्थानीयलाई नियुक्त गर्न पाउने भएपनि विभागबाट कुनै किसिमको निर्देशन नआएकोले समस्या उत्पन्न भएको छ ।
दरबन्दीका अन्य दुईजना कर्मचारी काजमा अन्यत्रै खटिएका छन् । भौगोलिक रुपमा कठिन, समुदाय स्तरमा पर्याप्त चेतना र थप जनशक्ति नहुँदा कार्यसम्पादन गर्न समस्या भएको प्रमुख सुवेदीको गुनासो छ । ‘राज्यले खटाएको ठाउँमा त आउनु नै प¥यो तर, पर्याप्त व्यवस्था नहुँदा सम्म राज्यले सोचेको लक्ष्य यहाँबाट हासिल गर्न कठिन छ, उनले भने, ‘तत्काल दरबन्दी पुर्ति र आवश्यक पूर्वाधार निर्माणमा ध्यान दिन जरुरी छ ।’ व्यापारिक हिसाबले चीनसंग सबैभन्दा महत्वका कोरला नाका सञ्चालनमा आउने वित्तिकै भन्सारमा कामको चाप बढी हुन्छ । यसलाई धार्मिक दृष्टिकोणले पनि महत्वका साथ हेरिएको छ ।
तिब्बतको कैलाश मानव सरोवर जान चाहने भक्तजनका लागि कोरला नाकाको बाटो सबैभन्दा नजिक पर्छ । चीन र भारतले भारतको नाथुला नाका मार्फत भक्तजनलाई कैलाश जाने मार्ग खुल्ला गरेसंगै मुस्ताङका सरोकारवाला निकाय पनि कोरला नाका सञ्चालनको पक्षमा सरकारलाई दबाब दिईरहेका छन् । भन्सार कार्यालयमा आवश्यक पर्ने पूर्वाधारसहित करिब २० लाख रुपैयाँको योजना विभागमा पठाईएको नेचुङ भन्सार कार्यालयले जनाएको छ । ‘यसमा विभाग सकरात्मक छ, बजेट आएर आधारभुत कुरा भयो भने हामी नियमित यहाँ बस्न कुनै समस्या हुने छैन्, सुवेदीले भने ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी २१ वर्षपछि सञ्चालनमा आएको भन्सार कार्यालयलाई प्रभावकारी बनाउनुको विकल्प नभएको बताए । ‘हामी कोरला नाका कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा लागेका छौँ, सभाषददेखि सरोकारवाला निकायको टोलीले सरकारसंँग कुरा गरिरहेका छन्, यसमा राज्य पनि सकरात्मक छ, प्रजिअ बरालले भने ।