Live Streaming

​राप्रपा नेपालले धर्म सभाको आयोजना गर्दै

काठमाडौं, २२ असार । राप्रपा नेपालले आज काठमाडौंमा हिन्दु सनातन धर्म सभाको आयोजना गरेको छ । पार्टी अध्यक्ष कमल थापाले धर्मनिरपेक्षताको खारेजी तथा पूर्ण धार्मिक स्वतन्त्रता र समानतासहितको सनातन हिन्दुराष्ट्र स्थापनका लागि बबरमहलमा सभा आयोजना गर्न लागिएको जानकारी दिनुभयो  ।

उहाँले सभामा भारत, बेलायत, इन्डोनिसियासहितका देशबाट पनि सहभागिता हुने बताउनुभयो । बहुमतका आधारमा भइरहेको स्वेच्छाचारिताको विरोध गर्न, सनातन हिन्दु राष्ट्र पुनस्र्थापना गर्न, धर्मनिरपेक्षता खारेज गर्न, धर्म परिवर्तनलाई मौलिक हकमा राख्न नदिन तथा जनमतसंग्रहको माग पूरा गराउन संघर्ष घोषणा गरिएको थापाको भनाइ छ ।

संविधानसभालाई ठूला राजनीतिक दलका केही नेताको रबर स्ट्याम्प बनाएको, संविधानसभामा पर्याप्त छलफल गर्न नदिएको, नियमावली निलम्बन गर्ने, संविधान मिच्ने काम गरेको भन्दै त्यसविरुद्ध पनि राप्रपाले संघर्ष गर्ने जनाएको छ ।