जथाभावी औषधि बेचे डेढ वर्ष जेल
काठमाडौं,२२ असार । औषधि पसलहरुले आजैदेखि सरकारले तोकेको न्यूनतम् मूल्यमा औषधि बेच्नुपर्ने भएको छ । सरकारको निर्णय नमानी जथाभावी औषधि बेच्ने पसललाई डेढ वर्षसम्म जेल सजाय हुन सक्नेछ । हिजो बसेको मन्त्रिपरिषद बैठकले अत्यावश्यक मानिएका ९६ प्रकारका औषधिको मूल्य निर्धारण गरेको छ ।
औषधि पसलले मनोमानी ढंगबाट औषधि विक्री गर्दा बिरामी र बिरामीका परिवार मर्कामा पर्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था विभागलगायत सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित समितिले ६ महिना अध्ययन गरेर अत्यावश्यक औषधिको मूल्य निर्धारण गरेर प्रतिवेदन सरकारलाई बुझाएको छ ।
सरकारले क्यान्सर, मुटुलगायत ठूला रोग नियन्त्रणका लागि खानुपर्ने १० देखि १५ हजार मूल्य पर्ने महँगोदेखि सामान्य रुघाखोकी नियन्त्रणका लागि खानुपर्ने सिटामोलको समेत मूल्य तोकेको छ ।