यस्तो संविधानले मुलुक टुक्रिन सक्छ : खुमबहादुर खड्का
काठमाडौं,२१ असार । नेपाली काँग्रेसका नेता खुमबहादुर खड्का नेतृत्वको सनातन हिन्दुराष्ट्र स्थापना महाअभियानले आगामी संविधानमा बहुलबाद शब्द अनिवार्य रुपमा राख्नुपर्ने माग गरेको छ । संविधानको मस्यौदाका सम्बन्धमा सातबुँदे लिखित सुझाव पत्र बुझाउदै अभियानले बहुदलिय संसदीय शासन व्यवस्थालाई मस्यौदा संविधानको अपरिवर्तनीय धारामा समावेश गर्न माग गरेको हो। लिखितपत्रमा संविधानसभामा प्रस्तुत मस्यौदा विरोधाषपूर्ण रहेको उल्लेख छ ।
धर्मका विषयमा अनावश्यक चलखेल बढेर राष्ट्रिय एकता नै कमजोर हुनेतर्फ लिखित सुझावपत्रमा ध्यानाकर्षण गराइएको छ । संविधानको मस्यौदामा धर्मनिरपेक्ष शब्द राखिएकोमा सनातन हिन्दुराष्ट्र स्थापना महाअभियानले आपत्ति जनाएको छ । खुमबहादुर खड्का नेतृत्वमा माइतीघरबाट जुलुस निकालेर नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा पुगेर सभाध्यक्षलाई सुझावपत्र बुझाइएको हो ।
नागरिकहरुको मौलिक स्वधर्म, संस्कृति, आस्था र विश्वाश समाप्त हुनेगरि लेखिएको संविधान वास्तवमा देशको मुल कानून नभएर देशको बर्बादीको कारक बन्न सक्ने उसको ठम्याइ छ । मस्यौदामा समेटिएका धारा ४ र ३१ का कतिपय प्रावधानहरु नेपाल र नेपालीको मौलिक पहिचानको रुपमा रहेका सनातन धर्म संस्कृति विरुद्ध सुनियोजिन ढंगले प्रस्ताव गरिएको उल्लेख गर्दै त्यस्ता प्रावधान खारेज गर्न माग गरिएको छ । खड्काले यस्तो मस्यौदाले मुलुक टुक्रिने चेतावनी दिनुभएको छ ।