Live Streaming

मुढा बन्यो आयश्रोत

जनार्दन घिमिरे
गुल्मी, २१ असार: आफ्नै खर्यान र बारीका काल्नाहरुमा त्यत्तिकै खेर गईरहेको बाँसबाट पनि आयआर्जन गर्न सकिन्छ भन्ने कुरा गुल्मी वलीथुमकी लक्ष्मी गौतमले बल्ल थाहाँ पाइन् । आफ्नै गाउँघरमा संचालन भएको नौं दिने बाँसको प्रयोगबाट मुढा बुन्ने तालीममा सहभागी बनेपछि उनले बाँसको महत्वको बारेमा पनि परिचित भइन् । सुरुमा मुढा बुन्नका लागि बाँस काट्नेदेखि त्यसलाई चिर्ने कसरी होला भन्ने लागेको थियो, पछि त बाँस चिर्न पनि सिकियो र मुढा पनि बुनियो’ उनले हास्दै भनिन् 


उनी मात्र हैन उनीजस्तै अर्को गाविसमा संचालन भएको त्यस्तै तालीममा सहभागी बनेकी जुभुङ्ग काभ्रे पोखरीकी सिता जिसीलाई पनि तालीम सिकेपछि उनको मनमा थप उर्जा थपिएको छ । ‘फुर्सदको समयमा आफ्नै घरमा बसेर पनि बुन्न सकिने, धेरै समय पनि त्यत्ति खर्च नहुने, नसिक्दासम्म त के गर्न सकिएला र भन्ने थियो सिकेपछि अब त आँट पनि आयो– हेर्नुस पहिलो पटक हामीले बनाएका यी मुढाहरु बजारमा पाइने मुढाहरुभन्दा कम छैनन्’ आफुहरुले बुनेका मुढातिर संकेत गर्दै जिसीले भनिन् ।


जन विकास केन्द्रको आयोजना र जिल्ला भू–संरक्षण कार्यालयको सहयोगमा आयमूलक, कम खर्चिलो एवं भू–संरक्षण प्रविधिमा आधारित मुढा वुनाई तालीम लिएपछि त्यस क्षेत्रका महिलाहरुमा आत्मबल बढेकोे हो । गाउँमा पहिलो पटक यस्तो प्रकारको तालीम संचालन भएकोमा स्वर्णीम महिला समूहले गाउँ र टोल समेटेर  वीस जना महिलाहरुलाई उक्त तालीममा सहभागि गराईएको समूहकि सदश्य निशा क्षेत्रीले बता्इन् । सुरुमा कसरी होला ? सकिन्न होला ? जस्तो लागेको थियो, अब त सीप पनि सिकियो यसबाट आत्मनिर्भर बन्न सकिन्छ भन्न लागेको छ’ उनले भनिन् ।
 जिल्ला भू–संरक्षण कार्यालयले  उक्त तालीमलाई सहयोग गर्नुको उद्देश्य गाउँघरमा सजिलै भेटीने बाँस र प्रयोग विहिन अवस्थामा फालीएका प्लाष्टिकका टायरलाई बटुलेर बजारबाट सस्तो मुल्यमा प्लाष्टिकको रसी किनेर ल्याइ घरमा फुर्सदको समयलाई सदुपयोग गर्दै आयआर्जन गर्न सकिन्छ भन्ने मुख्य शन्देश दिनु रहेको बताएको छ । ‘यस्तो गर्दा मानिसहरुले आफ्नो जमिनमा बाँस रोप्ने बानीको विकास हुन्छ, जस्ले गर्दा भू–क्षयलाई रोक्नकालागि एकातिर ठूलो मद्दत पुर्याउछ भने अर्कोतिर घरमा बस्ने गृहिणीहरुले पनि समयको सदुपयोग गरि नुनतेलको जोहो गर्ने वातावरण बन्छ,’  जिल्ला भू–संरक्षण कार्यालयका प्रमुख विनोद ज्ञवालीले भने । 


जन विकास केन्द्रले जिल्लामा लक्षीत वर्गलाई मध्य नजर गर्दै वलीथुम र जुभुङ्ग गाविसका २०÷२० जना महिलाहरुलाई समेटेर उक्त तालीम संचालन गरेको हो । तालीम लिएपछि बोल्न लजाउने महिलामा पनि लजाउने बानी विस्तारै हटेको र उनीहरुको ज्ञान, शीप र धारणामा समेत परिवर्तन भएको संस्थाका अध्यक्ष भुपाल पोख्रेलले बताए ।