हाते ट्रयाक्टरप्रति किसानको आकर्षण बढ्दो
गोपाल छन्त्याल
म्याग्दी, २१ असार । सीमित जनशक्ति र समयको बचत हुने भएपछि जिल्लाका किसानहरु खेत जोत्न हाते ट्रयाक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् । जिल्ला कृषि विकास कार्यालयले कृषि इञ्जिनियरिङ निर्देशनालयसंग सहकार्य गरेर ३० प्रतिशत अनुदान सहयोगमा तीन वर्षदेखि ट्रयाक्टर वितरण गरिरहेको छ । युवा शक्ति वैदेशिक रोजगारमा जांदा गाउँघरमा भएको हली अभावलाई समेत ट्रयाक्टर प्रयोगले पूर्ति गरेको किसानको भनाइ छ ।
जिल्लाको ताकम, दरबाङ, बावियाचौर, अर्मन, कुहु, पात्लेखेत, विम, निस्कोट, देविस्थान, बेनी नगरपालिकाको घतान, रत्नेचौर, घतान, पुलाचौर, सिंगा लगायतका क्षेत्रमा यसको प्रयोग बढी भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । सानो देखि ठुला गरा भएका खेतहरु जोत्न ट्रयाक्टर उपयोगी देखिएको पुलाचौरका किसानले मिनबहादुर केसीले जानकारी दिए ।
उनका अनुसार, एक हल गोरुले एकदिन लगाउने खेत ट्रयाक्टरले दुई घण्टामै जोति सक्छ । ‘सुरुमा चलाउन जान्नुप¥यो, यसलाई आवश्यक पर्ने तेलको व्यवस्था गरिदिए पुग्छ, उनले भने, ‘आजभोली गोरु खोज्ने र पाल्ने झन्झट पनि हुदैन ।’
बेला–बेलामा ट्रयाक्टरमा समस्या आएपनि मर्मत गर्दै गए ५ देखि १० बर्ष सम्म चलाउन सकिने प्राविधिकहरुले जानकारी दिएका छन् । कम्पनी र ब्राण्ड अनुसार केहि रकम तल माथि परेपनि न्यूनतम ७० हजार रुपैयाँमा हाते ट्रयाक्टर आउने त्यसमा ३० प्रतिशत अनुदान पाउने हुँदा ४८ देखि ५० हजार रुपैयाँमा उक्त ट्रयाक्टर खरिद गर्न सकिन्छ । मध्य पहाडी जिल्लाहरुमा हाते ट्रयाक्टरको प्रयोग बढ्दै गएको र त्यो प्रभावकारी बनेको जिल्ला कृषि विकास कार्यालका वरिष्ठ कृषि विकास अधिकृत बसन्त कुमार श्रेष्ठले जानकारी दिए ।
बर्षेनी ३० जना किसानलाई अनुदानमा ट्रयाक्टर उपलब्ध गराउन सकिने भएपनि चालु आबमा दुईसय भन्दा बढी किसानले निवेदन दिएको उनको भनाई छ । ‘जिल्लामा कति आवश्यक छ भनेर खबर गर्दा दुई सय भन्दा बढी किसानले निवेदन दिए, हामी कहाँ सीमित कोटा हुने भएकाले सीमित किसानलाई छनौट गरेका छौ, उनले भने । किसानहरुले तत्काल ५० हजार रुपैयाँ तिरे ट्रयाक्टर उपलब्ध गराईने कार्यालयले जनाएको छ । व्यक्तिगत संगै कृषि सहकारी, किसान समूहहरुले बढी ट्रयाक्टरको माग गरेका छन् ।
सरकारले गतबर्ष ५० प्रतिशत अनुदानमा ट्रयाक्टर वितरण गरिएपनि यसबर्ष भने ३० प्रतिशत मात्रै अनुदान उपलब्ध गराएको छ । जिल्लामा गतबर्ष २१ वटा ट्रयाक्टर वितरण गरिएकोमा चालु आबमा ३४ वटा वितरण गरिने कृषि विकास कार्यालयका प्राविधिक सहायक रमेश खड्काले जानकारी दिए । ‘यो कार्यक्रमलाई आगामी आर्थिक बर्षहरुमा पनि निरन्तरता दिईनेछ, उनले भने ।