दुई नेपाली कामदारको मृत्यु
काठमाडौं,२१ असार । दक्षिण कोरियामा मोटरसाइकल दुर्घटनामा दुई नेपाली कामदारको मृत्यु भएको छ । हिजो बेलुकी सवा ६ बजेतिर होवाङसान भन्ने स्थान भएको मोटरसाइकल दुर्घटनामा परेर स्याङ्जा बिरुवा ६ का भिमसेन केसी र नवलपरासी सुनवल हर्दियाका रामबहादुर सिंजाली मगरको मृत्यु भएको हो ।
दुई दिनपछि नेपाल फर्किन लागेका साथीहरुलाई बिदाइ गर्न ओक्सन पार्क जाँदै गरेका उनीहरु चढेको मोटरसाइकल अनियन्त्रित भएर पार्क नजिकै दुर्घटना भएको समाचारमा उल्लेख छ । रोजगार अनुमति प्रणाली (ईपीएस) बाट गएर एक कार्यकाल पूरा गरेका केसी र सिंजाली एकै कम्पनीमा कार्यरत थिए ।
भिसा अवधी सकिएपछि केसीले शरणार्थी भिसा बनाएका थिए भने सिंजाली अबैधानिक हुन् । स्थानीय प्रहरीले घटनाको प्रारम्भिक प्रतिवेदन सोलस्थित नेपाली दूताबासलाई पठाइसकेको छ । घटनाको विस्तृत विवरण आएपछि मात्र दुर्घटनाको कारण थाहा हुने उपनियोग प्रमुख राजाराम बर्तौलाले जानकारी दिनुभयो ।