Live Streaming

​१० हजारमा खाडी मुलुक जान पाइने

 काठमाडौं,२१ असार । सरकारले मलेसिया र ६ वटा खाडी मुलुकमा आजदेखि न्युनतम शुल्क १० हजारमै कामदार पठाउने निर्णय लागू गर्ने भएको छ । सरकारले आजदेखि लागू हुने गरी बैदेशिक रोजगारीमा जाने कामदारलाई न्यूनतम शुल्कमै पठाउने भएको हो ।

श्रम तथा रोजगार मन्त्रालयले आजदेखि न्यूनतम सेवा शुल्क बाहेक अन्य कुनै चार्ज लिन नपाउने व्यवस्था लागू गरेको छ । यसअघि कामदार विदेश जाँदा म्यानपावर कम्पनीहरुले कम्तीमा ५० हजार देखि काम र देश हेरी ५ लाख रुपैयाँसम्म असुल्ने गरेका थिए ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले एक सूचना जारी गरी आजदेखि देखि अनिवार्य रुपमा यो व्यवस्था लागू गर्न र कामदारलाई बैदेशिक रोजगारीमा लैजाँदा निशुल्क टिकट र भिषा शुल्कबापत कुनै चार्ज नलिन सम्बन्धित म्यानपावर कम्पनीहरुलाई आग्रह गरेको छ ।

अन्यथा कडा नियम अनुसार कडा कारबाही गर्ने चेतावनी पनि मन्त्रालय र विभागले दिएको छ । यो सर्तमा मात्रै श्रम स्वीकृति दिने निर्णय पनि सरकारले गरेको छ । भने कोही कसैले बढी शुल्क लिएको जानकारी पाएमा तुरुन्त खबर गर्न पनि सरकारले कामदारलाई भनेको छ ।

 तर व्यवसायिहरुले भने यसको विरोध गरेका छन । सरकारले निःशुल्क टिकट र भिषा लागू गरेका राष्ट्रहरुमा बहराइन, कतार, साउदी अरब, युएई, ओमान, कुबेत र मलेसिया रहेको छ । यो निर्णय लागू भएसँगै नेपाली कामदारका लागि अब बैदेशिक रोजगारदाता कम्पनीले भिसा, आउनेजाने हवाई टिकटको खर्च ब्यहोर्ने र कामदारको तलबबाट कुनै पनि खर्च कटाउन पाइने छैन ।