अन्नपूर्णले जगायो बालबालिकाको आशा
युवराज पुरी
सिन्धुपाल्चोक: भूकम्पले घर भत्किँदा झोलालगायत शैक्षिक सामग्री पुरिएकाले अब कसरी पढ्ने भन्ने चिन्तामा रहेकी जनता मावि ज्यामिरेको कक्षा ९ मा अध्ययनरत दीपा बिष्ट शुक्रबारबाट यो चिन्ताबाट मुक्त भइन्।
अन्नपूर्ण मिडिया नेटवर्कले झोला, छाता, रेनकोट, कापी, कलम, ज्यामिति बक्सलगायत सामग्री उपलब्ध गराएपछि बिष्ट उक्त चिन्ताबाट मुक्त भएकी हुन्।
विनासकारी भूकम्प प्रभावित जिल्लाका छात्रछात्राका लागि अन्नपूर्ण मिडिया नेटवर्कले सञ्चालन गरेको एक विद्यार्थी एक शैक्षिक सामग्री अभियानअन्तर्गत जनता माविका बिष्टजस्तै चार सय १५ जना बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो।
‘सबै सामग्री घरमा पुरिएको थियो । अन्नपूर्णले मेरा ती सामग्रीहरूको अभाव पूरा गरिदिएको छ', बिष्टले भनिन्, 'अन्नपूर्णको यो अभियानले हामीमा आशा जगाएको छ।'
नेटवर्कले भूकम्पबाट सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकको पश्चिमी गाउँ ज्यामिरेको जनता मावि र भूमेस्थान निमाविबाट शैक्षिक सामग्री वितरण सुरु गरेको हो।
भूमेस्थान निमाविका एक सय ६० विद्यार्थीलाई शुक्रबार शैक्षिक सामग्री वितरण गरिएको थियो।
अन्नपूर्ण मिडिया नेटवर्कका प्रमुख सञ्चालन अधिकृत हरि गौचन नेतृत्वको टोलीले शैक्षिक सामग्री बालबालिकालाई हस्तान्तरण गरेको थियो।
शैक्षिक सामग्री वितरण गर्दै गौचनले विद्यार्थीमा आशा जगाउन अन्नपूर्ण मिडिया नेटवर्कले यो अभियान सञ्चालन गरेको बताए।
रेडियो अन्नपूर्ण नेपालका स्टेसन म्यानेजर राजाराम गौतमले विपद्का बेला बालबालिकाको साथ रहने उद्देश्यले विभिन्न दाताहरूको सहयोगमा शैक्षिक सामग्री संकलन गरेर वितरण सुरु गरिएको जानकारी दिए।
जनता माविका प्रधानाध्यापक ठाकुरनाथ कुइँकेलले अन्नपूर्ण मिडिया नेटवर्कले आफूहरूको पीडामा मलम लगाउने प्रयास गरेको बताए।
वितरण कार्यक्रममा नेपाली कला संगमका कलाकारहरूको चेतनामूलक सांगीतिक प्रस्तुतिले विद्यार्थी एवं स्थानीयले मनोरञ्जन लिएका थिए।
वितरण कार्यक्रममा फिल द बकेट, केटाकेटी जर्मनीका प्रतिनिधिको पनि सहभागिता थियो।
तस्बिर: उमा बिष्ट