Live Streaming

कृषिमन्त्री हरिप्रसाद पराजुलीद्वारा पदबाट राजीनामा

काठमाडौं, १७ असार ।  धान दिवस मनाउने क्रममा महिलाहरुलार्इ अभद्र शैलीमा समातेर आलोचित बनेका कृषिमन्त्री हरिप्रसाद पराजुलीले पदबाट राजीनामा दिएका छन् । पराजुलीले एमाले अध्यक्ष केपी शर्मा ओलीमार्फत मन्त्री पराजुलीले राजीनामा बुझाएका हुन् । यद्यपी प्रधानमन्त्री कार्यालयले भने राजीनामा पत्र प्राप्त भईनसकेको जनाएको छ । पार्टीभित्र र बाहिरबाट मन्त्री पद छाड्न चौतर्फी दबाब परेपछि मन्त्री पराजुली बिहीबार बिहानै राजीनामा बुझाउन अध्यक्ष ओलीको बालकोटस्थित निबासमा पुगेका थिए । मन्त्री पराजुलीको हर्कतले एमालेमाथि नै चौतर्फी प्रश्न उठेपछि अध्यक्ष ओली र उपाध्यक्ष गौतम बुधबारै उनलार्इ हटाउने निचोडमा पुगेका थिए ।

आफूले नियतवश महिलालार्इ नसमातेको बताउने मन्त्री पराजुलीका हर्कतका तस्बिर र भिडियो सामाजिक सञ्जाल र सञ्चारमाध्यम भाइरल भएपछि उनको पद धरापमा परेको थियो । एमाले उपाध्यक्ष बामदेब गौतमको निकट भएकै कारण मन्त्री भएका पराजुलीले पदीय मर्यादा बिर्सेर महिलालार्इ अश्लील हर्कत देखाउँदै समातेपछि राजीनामा दिनुपरेको हो । यसअघि पनि मन्त्री पराजुलीले सार्वजनिक स्थानमै खैनी मोलेर खाएपछि बिरोधको सामना गर्नुपरेको थियो । मन्त्री पराजुलीले बुधबार दिनभर सञ्चारमाध्यममा आफूले महिलालार्इ नसमातेको स्पष्टिकरण दिएका थिए ।

अध्यक्ष ओली र उपाध्यक्ष गौतमले मन्त्री पराजुलीसँग हिजै स्पष्टिकरण लिएका थिए । स्पष्टिकरण दिने क्रममा मन्त्री पराजुलीले आफ्नो नियत गलत नभएको भन्दै बचाउको प्रयास गरेका एमाले स्रोतको भनाइ छ ।