Live Streaming

संविधानको कार्यतालिका बनाउन दलहरु छलफलमा

काठमाडौं,१६ असार । मस्यौदा संविधानसभामा पेश भएपछि संविधान जारी गर्ने कार्यतालिका बारे दलहरुबीच आज छलफल हुँदैछ । फाष्ट्र ट्रयाकबाट साउन मसान्त भित्र संविधान ल्याउने विषयमा दलहरुबीच मोटामोटी सहमति भइसकेको कँग्रेसका एक नेताले जानकारी दिए ।

मस्यौदा जनतासामू कति समयका लागि लैजाने भन्ने बारेमा दलहरु अनौपचारीक छलफलमा रहेका छन । कांग्रेसका सभासद रमेश लेखकका अनुसार पेस भएको मस्यौदा करिब एक साता जनताको प्रतिक्रियाका लागि जनतामा लगिने र पुनः संविधानसभामार्फत संवाद समितिमा फर्काइने छ ।

जनताको प्रतिक्रियासहित संविधानसभामा पेस गरिने मस्यौदामाथि छलफल भएपछि पुनःमस्यौदा समितिमा जानेछ । मस्यौदा समितिले त्यसलाई संविधानको मस्यौदाका रुपमा तयार गरी पुनःसंविधानसभामा पेस गर्नेछ । सभामा प्रस्तुत संविधानको विधेयकमाथि दफावार छलफल भई पारित भएपछि नयाँ संविधान घोषणा हुनेछ ।

यी सबै प्रक्रिया द्रुत हिसाबले अघि बढाइने र यसका लागि बढीमा २५ दिन लाग्ने अनुमान गरिएको छ । दलहरुबीच सहमति भएपनि कार्य व्यवस्था परामर्श समितिको भोलिको बैठकमा कार्यतालिका तयार हुने संसद सचिवालयले जनाएको छ ।