Live Streaming

​बाढीले बगाउँंदा एकको मृत्यु

विराटनगर,१६ असार । बक्राहा खोलामा आएको बाढीले बगाउँंदा मोरङको मधुमल्लाका चार वर्षीय  शिशिर थापाको मृत्यु भएको छ । अन्य दुईजनाको भने सकुशल उद्धार गरिएको मोरङ प्रहरी प्रहरीका प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । बक्राहा खोलाको बाढी गाउँ पसेपछि मधुमल्लाका चार वटा वडा डुबानमा परेका छन् । राती साढे १२ बजेतिर नदी बस्तीमा पस्दा वडा नं. ४, ५, ६ र ८ डुबानमा परेका हुन् । रातीदेखि नै प्रहरीले उद्धार जारी राखेको डिएसपी ढकालले बताउनुभयो । 


उता झापाको रतुवा, कन्काई र बिरिङ खोलामा पनि बाढी आएपछि आसपासका गाविस उच्च जोखिममा परेका छन् । बिरिङमा आएको बाढीका कारण घैलाडुब्बा, डाँगिबारी र शरणामती गाविसका नदी आसपासका बस्ती जोखिममा परेको प्रहरीले जनाएको छ । नदीको पानी आसपासका गाउँंहरुमा पस्न सुरु गरेपछि सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।