Live Streaming

ऋण तिर्न ग्रीस असमर्थ

असार १६, एजेन्सी ।
अन्तराष्ट्रिय मुद्रा कोषले दिएको समयसीमा भित्र ऋण तिर्न ग्रीस असमर्थ भएको छ । कोषले १ दशमलब ८ बिलियन अमेरिकी डलर ऋण तिर्न ग्रीसलाई गएराती सम्मको समय दिएको  थियो । उसले सो समय भित्र ऋण तिर्न नसकेपछि त्यहाको ऋणसंकट थप चुलिएको छ । मुद्रा कोषको ऋण विकासशील राष्ट्रले तिर्न नसकेको यो नै पहिलो घटना हो । यसअघि सन् २००१ मा अबिकसित जिम्बाबे कोषको ऋण तिर्न असफल बनेको थियो ।

ऋण भुक्तानीका लागि युरोजनका अर्थमन्त्रीहरुको बैठक आब्हान गरेपनि सो बैठकमा ऋण भुक्तानीका लागि  ठोस समाधान हुन नसकेपछि ग्रिसमा आर्थिक संकट थप चुलिएको हो । मुद्राकोषले गएराती एक बिज्ञप्ती जारी गरि ग्रीसले समयसिमा भित्र ऋण तिर्न असफल भएको बताएको हो ।

यद्यपी अन्तराष्ट्रिय मुद्रा कोषका प्रबक्ता गेरी राईसले ग्रीस सरकारले आग्रह गरे समयवाधि केहि समय थप गर्न सक्ने बताएका छन् । तर थपिएको समयसिमा भित्र पनि उसले ऋण भुक्तानीका लागि भरपर्दो कोष फेला नपारे पछि ग्रीस थप संकटमा फसेको छ ।

उसले मुद्रा कोषको ऋण भुक्तानीका लागि देशबाट बाहिरिने रेमिट्यान्स रोक्का गरी बैक मौज्दात झिक्न पनि रोक लगाएको थियो । तर देशभरकै बैकहरु खराब कर्जामा गुज्रिएपछि उसको अन्तिम प्रयास बिफल बनेको थियो । यो सँगै ग्रीसको युरो जोनबाट बाहिरिने सम्भावना अझ बढेको छ ।